राजीनामा दिने एमाले सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको प्रस्ताव – Nepal Press

राजीनामा दिने एमाले सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको प्रस्ताव

काठमाडौं । नयाँ सरकारको नेतृत्व लिन अग्रसर नेपाली कांग्रेसले राजीनामा दिने नेकपा एमालेका सांसदहरूलाई उपनिर्वाचन जिताउने वचन दिएको छ ।

सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको माधव नेपाल पक्षका नेताहरुसँग यस्तो प्रस्ताव गरेका हुन् ।

केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरू राजीनामा दिन तयार छन् यद्यपि संख्या यकिन भइसकेको छैन । कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ । संसदको अंकगणितमा माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) को समर्थन पाइसकेको कांग्रेसले माधव पक्षका सांसदहरुले राजीनामा दिए बहुमत पुग्ने निष्कर्ष निकालेको छ ।

‘महन्थ ठाकुरहरूले समर्थन नगरेको अवस्थामा पनि विकल्प छ । माधव पक्षले सहयोग गर्‍यो भने बहुमत पुग्ने देखिन्छ । त्यसका लागि माधव पक्षलाई मनाउने प्रयास छ’, कांग्रेसबाट वार्तामा सहभागी एक नेताले भने । ती नेताका अनुसार माधव नेपाल र भीम रावलले जति सांसदले राजीनामा दिँदा ओलीको सम्भावना टर्छ त्यति जनाको राजीनामा गराउने वचन दिएका छन् ।

कांग्रेस सभापति देउवाले मंगलबार बेलुकी नेपाल र रावलसँग निवासमै छलफल गरेका थिए । सोही छलफलमा सभापति देउवाले आफूलाई सहयोग गर्ने एमाले सांसदहरुलाई उपनिर्वाचनमा सहयोग गर्ने वचन दिएका हुन् । ‘योबेला सांसदबाट राजीनामा दिनेहरूलाई उपनिर्वाचनमा सहयोग गरेर पुनः संसदमा ल्याउने प्रस्ताव पनि भएको छ । अब हेरौं नतिजा के हुन्छ ?’, कांग्रेस स्रोतले भन्यो ।

सामूहिक राजीनामा दिने विषयमा माधव पक्षमै सहमति जुटिसकेको छैन । अधिकांश सांसदले पद र पार्टी दुवै त्यागेर राजनीतिक कसरी जोगाउने ? भनी प्रश्न गर्दै आएका छन् । यहीकारण उपनिर्वाचनमा एमालेको ओलीपक्षका उम्मेदवारविरुद्ध कांग्रेस र माओवादीले माधव पक्षका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति जुटाउन खोजिएको हो । रिक्त रहने सांसद पदमा ६ महिनाभित्र उपनिर्वाचन हुने संवैधानिक प्रावधान रहेको छ ।

पढ्नुहोस्: देउवालाई नेपाल-रावलको आश्वासन : ओली ढाल्न आवश्यक संख्या हामीसँग छ


प्रतिक्रिया

5 thoughts on “राजीनामा दिने एमाले सांसदलाई उपनिर्वाचनमा जिताउने कांग्रेसको प्रस्ताव

  1. माधव-प्रचण्डहरू अर्थात माझण्डहरू वामपन्थी आन्दोलन तहसनहस बनाउन प्रयोग गरिएका पात्र रहेछन्। दक्षिण-पश्चिमले बहुत होसियारीका साथ दुबै खेमामा यिनलाई नेतृत्वमा पुर्याउन भूमिका मात्र होईन लगानी पनि गरेका रहेछन्। दक्षिणले प्रचण्डलाई त पश्चिमले माधवलाई योजनाबद्ध रूपमा कम्न्युनिष्ट आन्दोलनको मुख्य नेता बनाएको रहेछ। मदन भण्डारीको षडयन्त्रपूर्ण हत्याको सुक्ष्म अनुसन्धान हुने होभने हत्यारा पत्ता लगाउन कुनै कठिनाई छैन्। उपयोगितावाद अर्थात अस्थिर (प्रचण्डको भाषामा गतिशील) प्रचण्ड र विधि पद्धतिको खास्टो ओढेका कुण्ठा (होलीवाईन) को गद्दारीको भण्डाफोर अनिवार्य भएको छ।

      1. सहि निर्णय हो ।किनकि कम्युनिस्ट आन्दोलन र समाजबाद त के पुजीवाद भन्दा पछि फर्कने प्रतिगामी केपि लाई घोडा बाट गलहत्याउनु नै एक मात्र बिकल्प हो ।

  2. नगदा नगदी चाहिने माकुने काङ्ग्रेस सँग उधारो सहमति गर्न चाहेछन् त!

  3. विनासकालिन बिपरिद्ध बुद्धि भनेको यही रैछ। आफ्नो घर आफैले भत्काएर अरूले अर्को घर बनाइदिने सपनाको पछाडि जानेहरू अब गए/सकिए, ढिलो चाडो जनताले सजाय दिन्छन्। बाकि कांग्रेसको कुरो, जति यस्ता प्रोपोगण्डका कुराहरू बाहिर आउछन, ऊ कस्किदै जान्छ र ओली लोकप्रिय हुँदै जान्छन्।

Leave a Reply to शिशिर Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर