इजरायल र प्यालेस्टाइनबीच तनाव चर्कियो, हवाइ हमलामा गाजा क्षेत्रमा ३५ को मृत्यु – Nepal Press

इजरायल र प्यालेस्टाइनबीच तनाव चर्कियो, हवाइ हमलामा गाजा क्षेत्रमा ३५ को मृत्यु

सोमबार रातिदेखि इजरायल र प्यालेस्टाइनबीचको सीमा क्षेत्रमा चर्किएको द्वन्द्व मत्थर हुने संकेत मिलेको छैन । बरु, द्वन्द्व झनै चर्किएको छ ।

गाजा क्षेत्रबाट प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलतर्फ सयौं रकेट प्रहार गर्दा बुधबार कम्तीमा ३५ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । जसले गर्दा जेरुसेलेमभन्दा बाहिरका सहरमा पनि अस्थिरता फैलिएको छ ।

इजरायली सेनाले ८ सयभन्दा बढी रकेट आफ्नै क्षेत्रमा खसेको र आफ्नो प्रतिरक्षा प्रणालीले २ सयभन्दा बढी रकेटलाई गाजा क्षेत्रमै खसालिदिएको पनि जनाएको छ ।

अक्सा मस्जिदमा आफूहरुलाई उक्साउने काम इजरायलले गरेको भन्दै हमासले आपत्ति व्यक्त गरेको छ । इजरायलले टकराव बढाए उसैलाई क्षति पुग्ने पनि हमासले चेतावनी दिएको छ ।

हमास नेता स्माइल हानियाले टेलिभिजनमार्फत सम्बोधन गर्दै कतार, इजिप्ट र संयुक्त राष्ट्र संघले आफूहरुलाई शान्ति स्थापनाका लागि आग्रह गरेको बताए । इजरायलले द्वन्द्व चाहे आफूहरु त्यसको लागि पनि तयार रहेको पनि उनले जनाए ।

अहिलेसम्म दुबैतर्फका गरी ४० को मृत्यु भएको बीबीसीले जनाएको छ । इजरायली सेनाले गाजामा १५० ठाउँमा आक्रमण गरेको छ र इजरायली सेनाको आक्रमणबाट प्यालेस्टाइनी सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

जेरुसेलेमस्थित अलअक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनी आक्रोशित भएका छन् । इस्लाममा धर्ममा यसलाई तेस्रो पवित्र स्थल मानिन्छ । सोमबार जेरुसेलेम दिवस मनाइरहँदा यो हिंसा भड्किएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *