सल्यान जिल्ला अस्पतालमा अक्सिजन सकियो – Nepal Press

सल्यान जिल्ला अस्पतालमा अक्सिजन सकियो

प्लान्ट स्थापनाका लागि आएका उपकरण १ वर्षदेखि गोदाममा

सुर्खेत । सल्यान जिल्ला अस्पतालमा अक्सिजन सकिएको छ । २२ जना कोरोना संक्रमित उपचाररत रहे पनि नियमित अक्सिजन दिनुपर्ने गम्भीर विरामी नरहेकाले तत्कालका लागि अक्सिजन अभावमा मानवीय क्षति हुने खतरा भने छैन ।

३५ शय्याको अस्पतालमा कोरोना संक्रमितका लागि १६ शय्या छुट्याइएको थियो । त्यसले नपुगेर इर्मजेन्सी वार्डका रहेका थप ६ शय्यामा पनि कोभिडका विरामी राखिएको छ । अस्पतालमा अक्सिजनसहितको वेडहरु पर्याप्त नभएका कारण एक बेडमा दुई जनासम्म राख्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

‘अस्पतालसँग अहिले ३१ वटा सिलिण्डर छन् । ती मध्ये १९ सिलिन्डरमा अक्सिजन भर्न दाङ पठाएका थियौं, अहिलेसम्म आइपुगेको छैन, अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले नेपालप्रेससँग भने, ‘यहाँ रहेका १२ सिलिण्डर खाली भइसकेका छन् । हिजो राती देखि नै अक्सिजन सकिएको छ । अक्सिजन नियमित चाहिने विरामी आए भने हामीले हात उठाउनुबाहेक केहि गर्न सक्दैनौं ।’

तीन दिनअघि भर्न पठाए पनि लामो दूरी पार गर्नुपर्ने, समयमा पालो नपाइने र पानी परेका कारण बाटोसमेत अवरुद्ध हुने समस्याले अक्सिजन सिलिण्डर समयमै आउन नसकेको उनले बताए ।

‘हामीले चाहेर मात्रै हुँदो रहेनछ् । अीक्सजन नै नभएपछि हामीले कसरी नागरिकको उपचार गर्ने ? अक्सिजनको अभाव हुने र त्यसले विरामीको अवस्थामा गम्भीर क्षति हुन सक्ने भएका कारण हामीले अस्पतालमा विरामी ल्याउनुपूर्व आवश्यक सल्लाह लिएर मात्र ल्याउन भनेर आव्हान भनेका छौं । यसको हामीसँग विकल्प पनि छैन,’ डा. जैसीले भने ।

उनका अनुसार अक्सिजन उत्पादन गर्न भनेर अस्पतालमा मिनि अक्सिजन प्लान्टका सामान आए पनि जडान भने गरिएको छैन । अस्पतालमा स्थायी डाक्टर दुई जना मात्रै छन् । प्रदेश तथा संघ करार, कोही विकास समिति करारमा सेवा दिइरहेका छन् । हाल दुई एमडीसहित आठ जना मेडिकल अफिसर, एक जना विदेशी डाक्टर कार्यरत छन् । कम्युनिटी र कोभिड नर्स, एक जना नर्स र अनमी स्थायी छन् । १२ जना नर्सहरु कार्यरत रहेका छन् ।

‘अस्पतालमा विरामीको संख्या बढिरहेको छ । निरन्तर बढेको खण्डमा हामीले धान्न सक्ने अवस्था छैन । वेडहरु मिलाउनुपर्ने, कर्मचारी राख्नुपर्ने अवस्था छ,’ डा. जैसी भन्छन् ।

अस्पतालको लापरवाहीले प्लान्ट सञ्चालनमा ढिलाइ

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्पतालमा अक्सिजन मिनि प्लान्ट स्थापना गर्न भनेर ४० लाख रुपैंया पठाए पनि अस्पतालको लापरवाहीका कारण हालसम्म जडान हुन सकेको छैन ।

‘आर्थिक वर्षको सुरुमै आएको बजेट कार्यान्वयनमा तदारुकता देखाउनुपथ्र्यो, कसैले सुरुमा वास्ता गरेनन्,’ अस्पतालकै एक कर्मचारी भन्छन्, ‘प्लान्टका लागि खरिद सामाग्रीको मात्रै टेण्डर आव्हान गरे । अक्सिजन र जडान कार्यका लागि केहि दिन पहिले मात्रै सूचना निकालेका छन् । सुरुमै टेण्डर आव्हान गरेको भए अहिले अक्सिजनको हाहाकार हुने नै थिएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *