लुम्बिनीमा कोरोना नियन्त्रणका लागि भएका प्रयासबारे अर्थमन्त्री पौडेलको चासो – Nepal Press

लुम्बिनीमा कोरोना नियन्त्रणका लागि भएका प्रयासबारे अर्थमन्त्री पौडेलको चासो

रूपन्देही । कोरोना संक्रमणको केन्द्र बनेको लुम्बिनी प्रदेशको महामारी नियन्त्रणमा योजना बनाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहल थालेका छन् । पौडेल रुपन्देहीबाट संघीय सांसदमा प्रतिनिधित्व गर्छन् ।

कोभिड–१९ को प्रभाव नियन्त्रण, लुम्बिनी प्रदेशका हरेक जिल्लाका कोभिड(१९ नियन्त्रण सम्बन्धि मूलभूत समस्या, समस्या समाधानका उपायलगायतका सन्दर्भमा अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको समन्वयमा पहल थालेका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशसभाका सांसदहरू, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थितिमा मंगलबार भर्चुअल माध्यममार्फत गरिएको बैठकमा यो विषयमा चासो राखेका थिए।

बैठकमा मन्त्री भोजप्रसाद श्रेष्ठले अर्थमन्त्री पौडेलसमक्ष लुम्बिनी प्रदेशको समग्र कोभिड–१९ सम्बन्धी हालको अवस्था, प्रदेश मन्त्रालयको विशेष गरी विविध कारणले देखापरेको अक्सिजनको अभावका कारण स्वास्थ्य उपचारमा समस्या भएको बताउँदै छिटोछरितो रूपमा अक्सिजन व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, लिक्विट ट्यांकको व्यवस्थापन, एन्टिजिन टेष्टको दायरा बढाउन लगायतका अन्य कोभिड १९ नियन्त्रणका उपकरणहरू व्यवस्थापन गर्न प्रादेशिक कोभिड कोषलाई ६० करोडको बनाउन आर्थिक लगायत अन्य स्रोत व्यवस्थापन गरिदिन आग्रह गरे ।

अर्थमन्त्री पौडेलले अक्सिजनको तत्काल व्यवस्थापन गर्न चीनबाट ल्याउने प्रक्रिया अगाडि बढिसकेको, भेन्टिलेटर, औषधि लगायतका आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गर्न सरकार लागिपरेको बताउँदै आर्थिक व्यवस्थापनमा कुनै कमी नरहने बताए ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तत्काल बिरामीहरुलाई विशेषगरी अक्सिजन अभाव भएको, पीसीआर परिक्षणको दायरा बढाउन एवं एन्टिजेन किटको प्रयाप्त व्यवस्था गर्न लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेका थिए ।

सुरक्षा संयन्त्रले कम स्रोतसाधनका बाबजुद पनि गतिविधिलाई तीव्रता दिइराखेकाले स्रोत व्यवस्थापनका लागि आग्रह गरेका थिए भने प्रमुख जिल्ला अधिकारीले जिल्लाको समग्र कोभिडको अवस्था र चालिएका कदमबारे रिपोर्टिङ गरेका थिए ।

स्वास्थ्य विज्ञको तर्फबाट डा. मान बहादुर केसीले हाम्रो जस्तो मुलुकमा कोभिड नियन्त्रणको प्रमुख उपायका रुपमा भौतिक दूरी कायम गर्ने र सरसफाइमा विशेष ध्यान दिनु नै उचित हुने बताए ।

१२ वटै जिल्लामा विशेष समस्याका रूपमा देखा परेका प्रश्नहरुको जवाफ दिदै कार्यक्रम सञ्चालक लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयले अगाडि सारेका योजनासहित देवदह मेडिकल कलेजमा कोभिड बेड बिस्तार गरिएको बताए ।

उनले ५८३ जना अस्थायी दरबन्दी स्वीकृत भइसकेको र आवश्यक परे थप गर्न सकिने मन्त्रालयले कोभिड नियन्त्रणमा चालेका कदमहरूको बारेमा जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *