लिसेस्टरले म्यानचेस्टर युनाइटेडलाई हराएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन – Nepal Press

लिसेस्टरले म्यानचेस्टर युनाइटेडलाई हराएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

एजेन्सी । लिसेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा २-१ गोलअन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी चार वर्षको अन्तरमा तेस्रोपल्ट इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ ।

ओल्ड ट्राफोडमा सन् १९९८ पछि पहिलोपल्ट युनाइटेडलाई पराजित गरेको लिसेस्टरले यो सिजन च्याम्पियन्स लिग छनोटको लक्ष्यमा महत्वपूर्ण सफलता हासिल गरेको छ ।

युनाइटेडको यो हारले तीन खेल बाँकी रहँदा सिटीसँग उसको अंक अन्तर १० भएको छ । समान ३५ खेलबाट युनाइटेडको ७० र सिटीको ८० अंक छ । ६६ अंकसहित लिसेस्टर तेस्रो स्थानमा उक्लिएको छ ।

क्याग्लर सोयुन्कुले दोस्रो हाफमा गरेको निर्णायक हेड गोलले लिसेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सको मुहारमा हासो मात्र ल्याएन सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई पनि फुरुंग बनाइदियो ।

१९ वर्षीय लुक थोमसले १० औं मिनेटमै गोल गरेपछि पाहुना टोलीले अग्रता लिएको थियो । तर मासोन ग्रिनउडले पाँच मिनेटपछि नै बराबरी गोल फर्काउन सफल रहे ।

सिटीले इंग्लिस फुटबलको शीर्ष डिभिजनको उपाधि जितेको यो समग्रमा सातौंपल्ट हो भने पछिल्लो ९ वर्षमा पाँचौंपल्ट हो । ‘यो सिजन र प्रिमियर लिगको उपाधि अरुका लागि थिएन,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यो निकै कठिन सफलता हो । हामीले सिजनभर कसरी खेल्यौं र कसरी जित्यौं भन्ने कुरा सधैं सम्झिनेछौं । म्यानेजरको नाताले म मेरा खेलाडीको समूहप्रति गर्व गर्छु ।’

‘म स्पेनिस लिगमा पनि रहेँ, जर्मन लिगमा पनि रहेँ र त्यसैले यसअघिदेखि नै बारम्बर भनिरहेको छु– प्रिमियर लिग विश्वकै सबैभन्दा कठिन लिग हो । त्यसैले यसको छुट्टै महत्व छ,’ ग्वार्डिओलाले थपे ।

५० वर्षीय प्रशिक्षक ग्वार्डिओलाले सन् २०१६ मा सिटीको जिम्मेबारी संहालेयता ८ घरेलु उपाधि जितेका छन् । सिटीले गत शनिबार नै घरेलु मैदानमा उपाधि जित्ने अवसर पाएको थियो । तर त्यस खेलमा चेल्सीसँग २–१ ले पराजित रह्यो ।

प्रिमियर लिगको उपाधि ओल्ड ट्राफोटमा निर्णायक भएको यो छैटौंपल्ट हो । र, अन्य कुनै रंगशालामा भन्दा धेरै हो ।

सिटीले दुई साताको बीचमा दुई उपाधि जितेको छ । यसअघि उसले टोटनह्यामलाई हराएर लिग कपको उपाधि जितेको थियो । मे २९ मा सिटीले चेल्सीसँग च्याम्पियन्स लिग फाइनल खेल्दैछ ।

सन् २००८ को सेप्टेम्बरमा आबुधावी समूहले सिटीको स्वामित्व किनेयता १२ उपाधि जितेको । उनीहरुले मे २३ मा एभर्टनसँग हुने लिगको अन्तिम खेलमा प्रिमियर लिग उपाधि उचाल्नेछन् । त्यस खेलमा १० हजार समर्थकले प्रवेश पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *