नागरिक बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई पत्रकार महासंघकाे आग्रह – Nepal Press

नागरिक बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई पत्रकार महासंघकाे आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट नागरिकको जीवन बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई आग्रह गरेको छ। मंगलबार भर्चुअलमार्फत बसेको महासंघको दोस्रो केन्द्रीय समिति बैठकले आम नागरिक र पत्रकार लक्षित विभिन्न ८ निर्णय गरेको हो ।

‘कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिदैँ आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई यो बैठक आग्रह गर्दछ,’ महासंघले बैठकपछि जारी गरेको विज्ञप्तीमा भनिएको छ। परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

निर्णयमा भनिएको छ, ‘स्वास्थ्य सेवा सुलभ र सहज रुपमा पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्दै कोरोना संक्रमणको परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन तथा अस्पतालको उपलब्धतालाई सुनिश्चित गर्नका लागि पनि सरकारलाई ध्यानाकर्षण गराउँदछ ।’

त्यस्तै स्वास्थ्य सामग्री, औषधिको कृत्रिम अभाव देखाइ चर्को मुल्य लिइरहेको, एम्बुलेन्स, हेलिकोप्टरसहितका यातायातका साधनले पनि मनोमानी रुपमा बिरामीसंग रकम लिइरहेको भन्ने गुनासो आएको भन्दै नियमनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले पत्रकारलाई कोरोनाविरुद्धको लडाइँका ‘फ्रण्टलाइनर’ घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न, पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बिमा र इन्टरनेट सुबिधाको व्यवस्था गर्न पनि माग गरेको छ ।

आगामी बजेटमा कोरोना संक्रमणबाट पीडित सञ्चारकर्मी र संकटग्रस्त संचारसंस्थाका लागि फरक- फरक राहत प्याकेजको व्यवस्था गरी घोषणा गर्न पनि महासंघले सरकारसंग माग गरेको  महासचिव राेशन पुरीले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *