सत्तारोहणबारे कांग्रेस बैठकमा देउवाको ब्रिफिङ : गाह्रो छ, गाह्रो छ ! – Nepal Press

सत्तारोहणबारे कांग्रेस बैठकमा देउवाको ब्रिफिङ : गाह्रो छ, गाह्रो छ !

महन्थ मिलाउन कठिन, माधव नेपाल पक्षले राजीनामा नगरे झन् कठिन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकारको प्रधानमन्त्री बन्ने कसरतमा छन् । प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव असफल गराउन सक्रिय भएका देउवा माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्री बन्न चाहन्छन् ।

माओवादीले समर्थन दिएपनि जसपाको महन्थ ठाकुर पक्षले समर्थन दिइसकेको छैन । सिंगो जसपाले समर्थन नगरेको अवस्थामा बहुमत जुटाउन देउवालाई सहज हुनेछैन ।

नेपाली कांग्रेसले गत चैत २० गतेकै केन्द्रीय समितिको बैठकबाट आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको थियो । यद्यपि पार्टीको त्यस निर्णय कार्यान्वयन गराउन देउवाले ठोस पहल गरेनन् ।

लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेल नै मुख्यमन्त्रीमा नियुक्त भएपछि भने देउवा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तात्तिएका थिए । अहिले प्रधानमन्त्री बन्न देउवाको प्रयत्न बढेपनि परिस्थिति उनको पक्षमा देखिएको छैन ।

बारम्बार ‘स्योरसट’ नभएसम्म अगाडि नबढ्ने बताएका देउवा अहिले एमाले फुटाएर भएपनि प्रधानमन्त्री बन्ने दाउमा छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका एमालेको माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा आफ्नो बहुमत पुग्ने देउवाको बुझाई छ ।

एमालेभित्र सामुहिक राजीनामा नभएमा जसपासंग राजनीतिक सम्झौता गर्नपनि देउवा तयार छन् । तर ठाकुर पक्षले वैकल्पिक सरकार गठनको प्रक्रियामा नलाग्ने औपचारीक घोषणा गरिसकेको छ । यस्तो अवस्थामा सभापति देउवाको सम्भावित सत्तारोहण असहज बन्दै गइरहेको छ ।

कांग्रेस बैठकमा के भयो ?

देउवा निवास बुढानिलकण्ठमा मंगलबार दिउँसो कांग्रेसका पदाधिकारीसहित प्रभावशाली नेताहरुको बैठक बस्यो । बैठकमा देउवाले आफ्ना नेतृत्वमा सरकार बन्ने अवस्था बनाउन सहयोग गर्न पार्टीका नेताहरुलाई आग्रह गरे ।

जसपाभित्रको विवादका कारण आफूलाई गार्हो परेको बताएका देउवाले कोसिस भने जारी राख्ने बताएका थिए । ‘जसपाले अप्ठ्यारो पार्यो । गाह्रो भो, गाह्रो भो । सबैजना लाग्दिनुपर्यो’, देउवालाई उधृत गर्दै एक नेताले भने । बैठकमा सहभागि सबैजसो नेताले महन्थ ठाकुर र राजेन्द्र महतोसंग संवाद गर्न देउवालाई सुझाएका थिए ।

जसपाको पूर्ण समर्थन नभए माधव पक्षका एमाले सांसदहरुको राजीनामा गराउने विकल्पबारे पनि देउवाले छलफल गरिरहेका छन् । बैठकपछि कांग्रेस सह महामन्त्री डा. प्रकाशशरण महतले जसपाको सबै पक्षलाई मनाउनेदेखि एमालेमा माधव पक्षको समर्थन लिनेसम्मको विकल्पमा छलफल भइरहेको बताए ।

देउवा कन्फिडेन्ट देखिएनन्

आफ्नै पार्टीका नेताहरुसंगको छलफलमा सभापति देउवा कन्फिडेन्ट रुपमा प्रस्तुत हुन सकेनन् । नयाँ सरकारबारे माओवादी र जसपा नेतृत्वसंग भएको संवादका भित्री कुरा पनि देउवाले खोल्न चाहेनन् । बैठकमा सहभागि एक नेताले प्रधानमन्त्री बन्न तीव्र ईच्छा भएपनि देउवामा अनौठो भय देखिएको बताए ।

‘सत्ताको कुरा आउँदा देउवाजीको यति कमजोर प्रस्तुति मैले कहिल्यै देखेको थिइँन । सबैले सहयोग गर्नुपर्यो भन्नुहुन्छ तर सबै कुरा खुलस्त गर्नुहुन्न’, ती नेताले नेपाल प्रेससंग भने । उनका अनुसार आफ्नो नेतृत्वको सरकार बन्ने सम्भावना कमजोर भएको महसुस गरेपनि देउवाले स्वीकार्न सकेका छैनन् । ‘प्रधानमन्त्री बन्न गाह्रो परेको उहाँले थाहा पाइसक्नुभयो । तैपनि तलमाथि कसैसंग कुरा गरेर मिल्छ की भन्नेमा उहाँ हुनुहुन्छ’, उनले भने ।

संविधानको धारा ७६ (२) अनुसारको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुकी नौ बजेसम्मको समय दिएकी छिन् । जसपा अध्यक्ष उपेन्द्र यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको भेटमा ठाकुर पक्षलाई पनि सहमत गराउने वचन दिएका छन् । यादवले वचन पूरा गरे पाँचौ पटक मुलुकको कार्यकारी प्रमुख बन्न सकिने आँकलनसहित देउवाले राजनीतिक संवादलाई तीव्रता दिएकै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर