माधव समूहमा छलफल- नयाँ सरकार गठनमा सरोकार राख्नुहुन्न – Nepal Press

माधव समूहमा छलफल- नयाँ सरकार गठनमा सरोकार राख्नुहुन्न

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेको छ ।

मंगलबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच ‘भर्चुअल माध्यम’मार्फत अनौपचारिक बैठक भएको थियो ।

बैठकमा पछिल्लो परिस्थितिको विश्लेषण भएको र ठोस कुनै निर्णय नभएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए। ‘अहिले हामीले सामान्य परिस्थितको विश्लेषण गरेका हौं,’ उनले नेपाल प्रेससँग भने, ‘ठोस केही पनि भएन ।’

अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नयाँ सरकार गठनप्रति आफूहरुको धेरै सरोकार नभएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसरी आफ्ना शर्त मनाउने भन्ने विषयबारे बैठकमा छलफल भएको बताए।

‘सरकारमा हाम्रो भूमिका केही पनि हुँदैन,’ भुसालले नेपाल प्रेससँग भने, ‘ सरकारसँग हाम्रो ममिला जोडिएको पनि छैन् । जोड्ने प्रयत्न कतिपयले गरेका होलान । बाहिरबाटै धेरै प्रयत्न भइरहेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकि पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि दलहरुलाई ३० बैशाख सम्मको समय दिएकी छिन् ।

यसै सन्दर्भमा छलफल गर्न बसेको नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले जसपा र माधव नेपालको समेत सहयोगमा सरकार बनाउने निर्णय गरेको छ।

यसप्रति भुसालले भने, ‘हरेक राजनीतिक पार्टी भित्रका कुरामा अरु पार्टीहरुले कसरी विश्लेषण गर्ने, आफ्नो हितमा, आफ्नो नीतिको हितमा भन्ने कुरा त हुन्छ नै । त्यस्तो प्रयास हामी पनि गर्छौं । तर, हाम्रो तर्फबाट अहिलेको हाम्रो विवाद यो सरकार बन्ने र नबन्ने कुरासँग सम्बन्धित छैन ।’

कतिपयले नेपाल समूहले राजीनामा दिएर भएपनि कांगेस नेतृत्वमा सरकार बनाउन सघाउने बताइ रहेका छन् । भुसाल यसलाई खण्डन गर्दै आफूहरुको जोड ओलीलाई आफ्ना शर्त मनाउनेमा भएको बताउँछन् ।

उनी भन्छन्, ‘हामीले ओलीजीलाई तपाईंले गलत काम गर्नुभएको छ। के–के मा गलत गर्नु भएको छ, हामीले भनेका छौं । धेरै कुराहरुलाई जेठ २ गते लैजानुहोस् भनेका छौं ।’

आफूहरुको थप कदम भने ओलीले लिने निर्णयमा भर पर्ने उनको भनाइ छ। ‘अब उहाँले के गर्नुहुन्छ , त्यो गरेपछि हामीले आफ्नो विचार बनाउँछौं,’ भुसालले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर