स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक छ : मन्त्री त्रिपाठी – Nepal Press

स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक छ : मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड-१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक रहेको बताए ।

उनले भने,‘सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ ।’ उनले अहिलेको अवस्थामा दोस्रो लहरको संक्रमण यही गतिमा बढे सरकारसंँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने चेतावनी दिए । उनले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न अनुरोध गरे ।

मन्त्री त्रिपाठीले कोभिड-१९ विरुद्धको खोपका सम्बन्धमा नबुझी जथाभावी नबोल्न आग्रह गरे । ‘खोप खरीदमा सरकारले कसैलाई पनि कमिशन दिएको छैन,’ उनले भने, ‘सरकारले प्रत्यक्ष खोप उत्पादक कम्पनीसंँग चार डलरमा खरीद गरेको हो ।’ उनले ‘कोभिशिल्ड’ खोप उत्पादन कम्पनी सिरम इन्सिच्युट अफ इण्डियामा आगलागी र भारतमा संक्रमण फैलिएकाले नेपालले खरीद गरेको १० लाख मात्रा खोप नआएको स्पष्ट गरे । भारतमा पनि संक्रमण बढेर निर्यात गर्न दिइएको छैन,’ उनले भने, ‘भारतले निर्यातका लागि अनुमति दिएपछि नेपालमा खरीद गरिएको १० लाख मात्रा खोप आउँछ ।’

उनले खोप नेपाल ल्याउनका लागि नेपालस्थित अमेरिका, रुस, चीन र बेलायतका राजदूतावाससंँग परराष्ट्र मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए ।

सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउनेबारे मन्त्रालयले सुझाव दिइसकेकाले अब सरकारले नै आवश्यकताका आधारमा घोषणा गर्न सक्ने बताए । उनले स्वास्थ्यसम्बन्धी सामग्री, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसंँग १४ अर्ब आजै सुनिश्चित गरिएको जानकारी दिए ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार संक्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै संक्रमण रोकथाम र नियन्त्रण गर्न सकिने बताए । उनले संक्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डिसिभिर सहज रुपमा उपलब्ध गराउन थालिएको जानकारी पनि दिए ।


प्रतिक्रिया

One thought on “स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक छ : मन्त्री त्रिपाठी

  1. Remdesvir kaha bata upalabdha huncha. Tyo ni rakhnu vako vaye ajha sajilo huntheo. Paincha matra vanne thaha vayo ava ka paincha tha xaina

Leave a Reply

Your email address will not be published. Required fields are marked *