फिचर

आमा सम्झँदै ‘आमा’ को दायित्व निभाउँछिन् दीपा

बिहानै दीपाश्री निरौला (कलाकार/निर्देशक)ले आमाहरूलाई सम्झँदै फेसबुकमा पोस्ट राखिन्, ‘जन्मदिने आमा, कर्म दिने आमा, साथ दिने आमा, हात दिने आमा, सबै आमाहरूको मुख हेरेँ ।’

पोस्टसँगै तल ‘आमा’हरूका साथ खिचिएका तस्बिर पनि पोस्ट्याएकी थिइन् । एउटा तस्बिर अरुभन्दा भिन्न थियो । सेताम्य भित्ताको किलामा झुड्याइएको महिलाको तस्बिरसँग उनले आफूलाई कैद गरेकी थिइन् । बिहान आँखा खुल्नासाथ दीपाले त्यो फोटो गहिरिएर हेरिन् ।

र भावुक मुद्रामा भनिन्, ‘हेप्पी मदर्स डे, आमा !’

दीपा आफ्नी आमालाई आज पल–पल सम्झिरहेकी छन् । सामाजिक सञ्जालमा साथीहरूले पोस्ट गरेको दृश्यले पनि उनलाई भावुक बनाउँछ । मानसपटलमा स्कुले केटी र आमाको सपना दौडिरहेको छ । आमा भन्थिन्, ‘मेरी छोरी सुब्बा होस् । सरकारी जागिर खाएर हाकिम होस् ।’

तर, दीपाको स्वभाव न सुब्बा हुनेजस्तो न हाकिम नै । उनलाई त नाच्नुमा थियो खुसी केवल ! आमासँग अक्षर छिचोल्ने मात्र ज्ञान थियो । तैपनि लाग्थ्यो– मेरा सन्तानले पढेर ठूलो हुनुपर्छ ।

यसकारण ऋण काढेर भए पनिर घरमा छोरी पढाउन ट्युसन टिचर राखिएको थियो । तर, दीपा ट्युसन टिचरको आँखा छलेर डान्सतिर हानिन्थिन् । त्यो छलछाम आमालाई सह्य थिएन, र दीपाले पिटाइ भेटिहाल्थिन् । ‘त्यतिबेला रिस उठ्थ्यो । आमालाई अन्जानमा गाली गर्थें । तर अहिले लाग्छ, मेरो त्यो ठूलो भूल थियो,’ दीपा सम्झन्छिन् ।

एसएलसीका लागि टेस्ट परीक्षा चलिरहेको थियो । त्यहीबेला क्यान्सर भएकी आमालाई उपचारका लागि हष्पिटल लगिएको थियो । शुक्रबार एउटा विषयको परीक्षा दिएर दीपा घर आउँदै थिइन् । घरभरि मान्छेहरूको भिड । सोचिन्– आमाको खबर सोध्न आएका होला !

तर होइन, आमाको विदाइको पो खबर लिएर बसेका रहेछन् उनीहरू । ‘आमा बिहान ४ बजे बित्नुभएको रहेछ, टिचिङमा । मैले मुखसमेत हेर्न पाइनँ आमाको,’ दीपा भावुक हुँदै सुनाउँछिन् ।

स्कुले उमेरकी दीपा त्यसदिनदेखि आमाविहीन भइन् । आमाको मृत्यु हुँदा शव समेत हेर्न नपाएकी दीपालाई त्यो कुराले बेलाबखत बिझाइरहन्छ पनि । आमा बितेको ३० वर्षपछि पनि भुल्न सक्दिनन् आमा, आमाको प्रेम भरिएको पिटाइ ।

‘आमा हुनेलाई भन्दा नहुनेलाई बढी महत्व हुँदो रहेछ है !’ दीपा द्रविभूत भावमा भन्छिन् ।

अघिल्ला वर्षहरूमा आजका दिन उनी वृद्धाश्रमतिर जान्थिन् । र आमाहरूलाई भोजन र मिठाइ खुवाउँथिन् । त्यसरी जाँदा कैयन् आमाहरूको अनुहारमा उनी आफ्नै आमाको अनुहार भेट्थिन् । ‘नानी तिमीले नसोचेको सपना पूरा गर्छौ । तिमी कति मायालु छौ आफ्नै छोरीजस्ती,’ आमाहरूले भनेको यो वाक्य उनको कानमा गुन्जिरहेको छ ।

०००

आमाको सन्दर्भमा कुरा गरिरहँदा दीपा आफूभित्रको मातृत्वबारे बोल्छिन् । ‘आमा हुन छोराछोरी जन्माउनु पर्दोरहेनछ,’ अहिले त उनी यो निश्कर्षमा पुगेकी छन् । तर, ५ वर्षअघिसम्म उनको मनले यो स्वीकार गर्दैन थियो ।

व्यक्तिगत जीवनमा दीपालाई आमा बन्ने रहर नभएको हैन । ‘बिहे गरौं, बच्चा जन्माऊँ’ भन्ने अनुभूति थियो उनीसँग । तर, अहिले दायित्व धेरै छ । सन्तानको माया पनि पाएको अनुभूति गरेकी छन् उनले ।

आज बिहानै बिहीनका बच्चा र सानी भदैनीले ‘आमाको मुख हेर्ने दिन’ भन्दै उनको मुख हेरे । उनले खुसी बटुलिन् ।

बिहान टुप्लुक्क आएको म्यासेजले पनि उनको खुसी थप्यो, ‘ह्याप्पी मदर्स डे मम ।’

यो म्यासेज राजले पठाएका थिए । उबेला तितोसत्यका बालकलाकार राज दीपक र दीपाका छोराको भूमिकामा थिए । ‘त्यो भर्खरको उमेरमा मैले तितोसत्यमा आमाको भूमिका निभाएकी थिएँ । त्यतिखेर छोराको क्यारेक्टरमा राज थिए । अहिले पनि म उसलाई छोराजतिकै प्रेम गर्छु । ऊ अहिले पनि मलाई मम भनेर सम्बोधन गर्छ । उसको प्रगतिमा आफ्नै छोराको प्रगति सम्झिन्छु,’ दीपा सुनाउँछिन् ।

०००

छोराछोरीको प्रेम त उनले १५ जना बच्चाहरूबाट पनि पाएकी छन् । जसलाई उनले पनि निकै प्रेम गर्छिन् । दीपक÷दीपा मिलेर १५ बच्चाहरूलाई पढाउने काम गरेका थिए, १५ वर्षअघि ।

विस्तारै आय राम्रै हुँदै गएपछि उनीहरूले यो सोच बनाएका थिए । ‘सबैभन्दा ठूलो दान शिक्षादान हो । मान्छे साक्षर भइसकेपछि उसले विवेक प्रयोग गरेर जे पनि गर्न सक्छ । आफूलाई उभ्याउन सक्छ । के थाहा मैले पढाएको बच्चा भोलि प्रधानमन्त्री नै हुनसक्ला कि,’ यो सोच दीपामा त्यतिबेलै प्रखर भएर आयो ।

उनीहरूले ती बच्चाहरू पढाए, जसको परिवार आर्थिक हिसाबमा निकै कमजोर छ । ‘अभिभावक जेलमा भएका, एकदमै कमजोर आर्थिक आय भएका परिवारका बच्चाहरूलाई हामीले पढाउन सुरु ग¥यौं,’ उनी सुनाउँछिन् ।

दीपामा हिजो आफूले पढ्न नसक्दाको इख पनि बाँचेको थियो । ‘तैंले कला रोज्छन् कि पढाइ भन्दा मैले पढाइ रोज्न सकिनँ । किनकि मेरो आयस्रोत राम्रो थिएन । त्यसकारण हिजो पढ्न पाइनँ । आज बच्चाहरूलाई पढाउन पाइरहेको छु,’ उनी खुसीभावमा भन्छिन् ।

पढाएका मध्ये एकजना बच्चाले त एसइई पाससमेत गरिसके । अहिले उनी स्कलरसिपमै पढिरहेका छन् । दीपक र दीपाले कमाइको १० देखि २० प्रतिशतसम्म बैंकमा राख्ने गर्छन् । ‘त्यही बैंकमा जम्मा भएको पैसाले पढाइरहेका छौं,’ उनी भन्छिन् ।

कतै रिबन काट्न जाँदा वा कार्यक्रममा, जानुअगावै उनी एउटा आग्रह गर्छिन्, ‘मेरा बच्चाहरूलाई पढाउनका लागि केही खचर्् छुट्याइदिनुस् है !’

‘उनीहरूलाई कार्यक्रममा म चाहिएको हुन्छ । मलाई मेरा बच्चाहरू पढाउन जरुरी हुन्छ । कार्यक्रममा जाँदा म यो सर्त राख्छु । अनि त्यहाँबाट आएको पैसा बच्चाहरूकै खातामा जान्छ,’ उनी सुनाउँछिन् ।

सामाखुसीमा पढ्ने सञ्जु नामकी बालिका छिन् । दीपा उनलाई छोरी भन्छिन् । उनी एकताका बिरामी थिइन् । ६ महिना जति पढ्न सकिनन् । पछि निको भएपछि दीपाले चिन्तित हुँदै भनिन्, ‘छोरीको पढाइ पनि छुट्यो । अब कसरी परीक्षा दिन्छौ नि तिमीले ?’ छोरीले हौसिँदै दीपालाई प्रेमपूर्वक भनिन्, ‘मलाई मेरो आमाको आशिर्वाद छ । म हाँसीहाँसी पास गरिहाल्छु नि !’

नभन्दै उनी परीक्षामा प्रथम भइन् ।

त्यहाँका दिदीहरूले सञ्जुको सन्दर्भमा भन्छन्, ‘एकदमै साइलेन्स नेचरको बच्चा हो ऊ । तर तपाईंहरू आमा बुवा भइसकेपछि निकै बोल्न थालेकी छन् ।’

यो कुराले दीपालाई निकै उत्साहित बनाउँछ । आफूले गरेअनुरुप बच्चाहरूले पनि माया गरेको देख्दा उनी आफ्नी आमालाई याद गर्छिन् । र पुरानो तस्बिर हेर्दै भन्छिन्, ‘मेरो पनि आमा भएको भए कति खुसी हुन्थेँ हुँला ।’

०००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *