गण्डकीमा सरकार बनाउने कांग्रेस-माओवादी प्रयास असफल, राजमो सांसद थापा बने निर्णायक – Nepal Press

गण्डकीमा सरकार बनाउने कांग्रेस-माओवादी प्रयास असफल, राजमो सांसद थापा बने निर्णायक

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने कांग्रेस-माओवादीसहित चार दलको प्रयास असफल भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँदैछ । अन्तिम घडीसम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले पीएस गुरुङलाई विस्थापित गर्न नसक्ने भएको हो ।

माओवादी केन्द्रका नेता तथा सांसद दिपक कोइरालाले जनमोर्चा सांसद कृष्ण थापाका कारण अब एक महिना गुरुङ नै मुख्यमन्त्री हुने निश्चित भएको बताए ।

कोइरालाले नेपाल प्रेससँग भने, ‘जनमोर्चाका कृष्ण थापाले हामीलाई समर्थन गर्न मान्नुभएन । उहाँले नमान्ने बित्तिकै बहुमत नपुग्ने भयो । अब २९ दिनका लागि उहाँ नै मुख्यमन्त्री हुनुभयो ।’

प्रदेश सभामा कांग्रेस, माओवादी र जसपाका सांसद हस्ताक्षर कुरेर बसेका थिए । तर, थापाको अस्वीकार पछि सबै फर्किएका छन् ।

गण्डकीमा राजमोका ३ जना सांसद छन् । अघिल्लो पटक बिरामी परेर अनुपस्थित भएका खिमविक्रम शाही पार्टीको निर्णय मान्न तयार भए पनि दलका नेता थापाले नमानेका कारण कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएको हो ।

राजमोकी सचेतक पियारी थापाले सोमवार ह्वीप जारी गरे पनि दलका नेता थापाले ह्वीपको अर्थ नभएको बताएका छन् । उनले बागलुङको राजनीति फरक रहेको र कांग्रेसलाई साथ दिन नसकिने बताएका छन् ।

प्रदेश प्रमुख कार्यालयले भने नयाँ सरकार गठनको समयावधि बुधबारसम्म रहेको जनाएको छ । आइतबार साँझ ४ बजे राजीनामा स्वीकृत गर्दै ३ दिन समय तोकेकाले बुधबारसम्म लागू हुने प्रवक्ता चन्दीप्रसाद अर्यालले बताए ।

‘३ दिन भनेर दिन तोकिएको होइन । ७२ घन्टालाई मानिएको हो,’ अर्यालले नेपाल प्रेससँग भने, ‘त्यसैले विपक्षी दललाई अझै भोलिसाँझ ४ बजेसम्मको समय छ ।’ नयाँ सरकार गठन गर्न अझै एक दिन बाँकी भएपनि जनमोर्चाले सघाउनेमा भने थापाको अस्वीकारसँगै सम्भावना सकिएको छ ।

सोमबार प्रदेश प्रमुख कार्यालयबाट जारी भएको पत्रमा ३ दिनमात्रै तोेकिएकाले कुन दिनसम्म भन्ने स्पष्ट भएको थिएन ।


प्रतिक्रिया

2 thoughts on “गण्डकीमा सरकार बनाउने कांग्रेस-माओवादी प्रयास असफल, राजमो सांसद थापा बने निर्णायक

  1. सही कदम । राजमोजस्तो कांग्रेसका लागि मरिहत्ते गरेर एउटा भइरहेको कम्युनिष्ट सरकारलाई घात गर्नु आत्महत्या थियो । आत्महत्याबाट बचाएकोमा कृष्ण थापालाई कार्यकर्ताले बधाइ दिएका छन् ।

  2. थापाको निर्णय ठिक् छ।उहाँ लाई मन्त्रि बनाउन राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर