रोकिएन घर फर्किनेको भीड, मनपरी भाडा असुल्दै व्यवसायी (भिडियो) – Nepal Press

रोकिएन घर फर्किनेको भीड, मनपरी भाडा असुल्दै व्यवसायी (भिडियो)

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरियो ।

निषेधाज्ञाको तयारीसँगै थातथलो फर्कनेहरूका लागि २ दिनको समय दिइएको थियो । तर, निषेधाज्ञा लम्बिएसँगै त्यो बेला घर नगएकाहरूको भीड बढ्न थालेको छ ।

धादिङ, चितवान, हेटौंडा, वीरगञ्ज, बुटवल, झापा, कैलाली, कञ्चनपुर, बाँके र बर्दियालगायत कलंकीको बाटो भएर जाने बस प्रत्येक दिन छुटिरहेका छन् ।

उपत्यकाका विभिन्न ठाउँबाट ३ घण्टासम्म पैदल हिँडेर कलंकी, बालकुमारी पुल नजिकको चोकलगायतको ठाउँमा भेला भएर यात्रुहरू घर गइरहेका छन् ।

निषेधाज्ञाको मौका छोपेर काउन्टरले गाडी भाडा भने मनलागी असुल गरिरहेका छन् । घर जानैपर्ने बाध्यताको फाइदा उठाएर मनपरी भाडा लिइरहेको पीडित यात्रुको भनाइ छ ।

सामान्य अवस्थाको भन्दा अहिले ४ गुणासम्म बढी भाडा लिएर बसले यात्रु ओसारिरहेका छन् । समान्य समयमा काठमाडौंबाट चितवन हुँदै हेटौंडा जाँदा ५०० भाडा थियो । अहिले हेटौंडासम्म यात्रा गर्दा बसले १ हजार देखि २ हजार रुपैयाँसम्म भाडा उठाइरहेका छन् । अन्य ठाउँमा पनि गाउँ जानेहरुले जति भन्यो त्यति भाडा तिर्न पर्ने अवस्था रहेको छ ।

वीरगञ्जबाट काठमाडौं यात्रु लिन आएका बसका चालक कमल कार्कीले टिकट काट्नेले यात्रुसँग १ हजार देखि २ हजारसम्म लिने गरेको बताए । तर, हामीले भने प्रति यात्रु १ हजार मात्रै पाउँछौं ।

कार्कीले भने, ‘यस्तो कोरोनाको समयमा यात्रु बोक्न आउँदा हामीले प्रति यात्रु १ हजार मात्रै पाउने हो । टिकट काट्नेले प्रति व्यक्ति नै ५ सयदेखि १ हजार रुपैयाँसम्म कमिसन खाने गरेका छन् । काठमाडौं आउँदा खाली आउनु पर्ने भएकाले पनि दोब्बर भाडा लिएका हौं । बसमा तेल हालेर १५ देखि २० हजार मात्रै जोगिन्छ । त्यही जोगिएको पैसाबाटै साहुलाई भाडा दिने हो । हामी चालकले पाउने भनेको धेरैमा ५ हजार मात्रै हो । बन्द नभएको समयमा पनि हामीले ४ हजारसम्म पाउने गरेका थियौं ।’

साँझको समयमा काठमाडौंबाट यात्रु चढाएर हिँडेपछि ट्राफिक प्रहरीले कतै पनि पास नमाग्ने र चेकिङ पनि नगर्ने कार्कीले नेपाल प्रेससँग बताए ।

कालीकोटका हंस शाही पनि निषेधाज्ञामा नै गाउँ जानका लागि कलंकी आएर आस कुरिरहेका थिए । उनी ललितपुरबाट हिँडेर कलंकी आइपुगेका हुन् ।

शाहीले भने, ‘पहिलेभन्दा अहिले गाउँ जानका लागि भाडा धेरै नै लिरहेका छन् । घरबाट जसरी पनि आउनु पर्छ भनेकोले धेरै भाडा तिरेर पनि गाउँ जान लागेको हो । नगरपालिकाले नै काठमाडौंमा समस्या परेर बसेकाहरुलाई गाउँ लाने बसको व्यवस्था गरेको छ ।’

त्यस्तै कलंकीबाट आफ्नो घर जान लागेका व्यक्ति हुन् कैलालीका खगेन्द्र जोशी । पढ्नका लागि २ महिनाअघि र्कीतिपुर आएर बसेका जोशीले भने, ‘शुरूमा २२ गतेसम्म मात्रै बन्द भनिएको थियो । पछि बढाउँदै गएको छ । हामी काम गर्दै पढ्नेलाई लामो समय बन्द हुँदा समस्या पर्ने भएर नै गाउँ जान लागेका हौं । पहिले काठमाडौं आउँदा १३ सयमा आएको अहिले जाँदा २ हजार भाडा तिरेर जान लागेको छु ।’

गाउँमा नै १० दिन क्वारेन्टाइनमा बस्ने कुरा भएर जान लागेको जोशीले बताए ।

ट्राफिक प्रहरीले केही दिनअघि धेरै भाडा असुल्ने काउन्टरका केही व्यक्तिलाई पक्राउ गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता डीएसपी सुनिमजंग शाहले पास भएका बस र साना गाडीहरू मात्रै सडकमा गुडेको बताए ।

शाहले भने, ‘विवाह, मृत्यु संस्कार र जिल्ला प्रशासन काठमाडौंले दिएको पास भएका बसहरू मात्रै सञ्चालन भएको छ । यात्रुले धेरै भाडा लिए भनेर जानकारी गराएको ठाउँमा सम्बन्धित ठाउँमै पुगेर कारवाही गरिरहेका छौं ।’

पास नभएका गाडीहरू सडकमा गुडे रोक्ने गरेको शाहले बताए ।

कसरी आउछन् यात्रु बसको सम्पर्कमा ?

घर फर्कनुपर्नेहरू नयाँ बसपार्कको हटलाईन नम्बरमा सम्पर्क गर्छन् । त्यहाँ सम्पर्क गरेपछि सम्बन्धित काउन्टर वा व्यक्तिको सम्पर्क नम्बर यात्रुलाई दिइन्छ र त्यही नम्बरमा सम्पर्क गरेको आधारमा बस चढेर जान पाइन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण दर फैलनुको पछाडि आवतजावत नरोकिनु रहेको बताए ।

‘धेरै कोरोना संक्रमित भएको ठाउँबाट मान्छे अन्य ठाउँ जाँदा कोरोना संक्रमण फैलिन सक्ने जोखिम हुन्छ । संक्रमण धेरै भएको ठाउँका मान्छेहरु सकेसम्म पहिले बसेकै ठाउँमा बस्दा कोरोना फैलिन पाउँदैन । पहिले पनि धेरै संक्रमित भएको ठाउँबाट अन्य शहर वा गाउँमा मान्छेहरू गएकाले नै कोरोना फैलिएको थियो’, पुनले भने, ‘अहिले पनि त्यस्तो नहोला भन्न सकिँदैन । कोरोना संक्रमणको लक्ष्यण नदेखिए पनि कोरोना संक्रमण हुन सक्ने भएकोले गाउँ गएकाहरू पनि १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । क्वारेन्टाइनमा बस्दा गाउँमा कोरोना सर्ने डार कम हुन्छ ।’

कोरोना संक्रमण धेरै भएको स्थानबाट गाउँ गएकाहरुलाई स्थानीय तहहरुले नै क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन क्वारेन्टाइनमा राख्न सके कोरोना संक्रमण फैलिन र काम गर्न सहयोग मिल्ने पुन बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले यातायात व्यवसायीलाई यात्रु गाउँ लैजानेबारे कुनै जानकारी नै नदिएको बताए । तर, सडकमा आफ्नै तरिकारले भाडा तोकेर बसहरु भने सञ्चालन भइरहेको छ ।

सिटौलाले भने, ‘राज्यले आपतकालीन अवस्थामा गाउँमा यात्रु लैजाने सकरी भनेर महासंघलाई कुनै जानकारी दिएको छैन् । यातायात व्यवस्था विभाग र ट्राफिक कार्यलयसँग मिलाएर आफ्नै तरिकाले बस सञ्चालन भइरहेको छ ।’

कोरोना महामारीको समयमा सबैले स्वास्थ्यको मापदण्ड पूरा गरेर सुरक्षित तवरले यात्रुलाई गाउँ पुर्‍याउनु पर्ने समयमा आफ्नै मनोमानी तरिकाले सब सञ्चालन भइरहेको सिटौलाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *