हेलिकप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको निर्देशन – Nepal Press

हेलिकप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको निर्देशन

काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ ।

यस्तै, उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ ।

क्यानको निर्देशनबमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघिण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिमबापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको छ ।

यसैबीच, हवाई सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले पनि छुट्टै विज्ञप्ति जारी गर्दै कोभिडका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ ।

अहिलेको परिस्थितिमा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोभिड बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै सङ्घले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको स्पष्ट पारेको छ ।

सङ्घले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १५०० प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर एक हजार प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आइरहेको र हाल सो दरभन्दा पनि कममा उडान गरिरहेको सङ्घले जनाएको छ ।

कोभिड बिरामी उद्धार उडानमा मात्र संलग्न भएका कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्क गर्नसमेत अनुरोध सङ्घले गरेको छ । यदि कहीँ कतै बढी रकम लिएको र गलत गरेको लागेमा यस सङ्घ र क्यानमा सिधै सम्पर्क गरी गुनासो एवं जानकारी गराई दिनसमेत सबैमा अनुरोध गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर