जसपाको आधिकारिक धारणा राष्ट्रपतिलाई लिखित जानकारी गराउने महन्थको तयारी – Nepal Press

जसपाको आधिकारिक धारणा राष्ट्रपतिलाई लिखित जानकारी गराउने महन्थको तयारी

उपेन्द्र यादवको निर्णय व्यक्तिगत, दलको समर्थन नहुनासाथ वैकल्पिक सरकार नबन्ने दावी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वैकल्पिक सरकार गठनमा आफ्नो पार्टी कुनै पनि गठबन्धनमा नरहेको जानकारी लिखित रुपमा राष्ट्रपतिलाई गराउने भएका छन् ।

सोमवार मध्यराति प्रेस वक्तव्य जारी गरेर जसपा केपी ओलीको विकल्पमा अर्को सरकार गठनमा नलाग्ने बताइसकेका ठाकुरले राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र आफ्नो दल कतै नलाग्ने लिखित जानकारी शीतल निवासमा दर्ता गराउन लागेको स्रोतले जनाएको छ ।

जसपा अध्यक्ष ठाकुर निकट स्रोतले भन्यो, ‘पार्टीको प्रथम अध्यक्ष उहाँ नै हो । उपेन्द्रजीको भर परेर वैकल्पिक सरकार गठनमा नलाग्नुस्, धोखा होला भनेर हामीले शेरवहादुर देउवालाई भेटेरै भनेको हो । अब लिखित रुपमा ठाकुरजीले जसपा संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनको दावी गर्ने गठबन्धनमा छैन भनेर दिएपछि सबै खेल खत्तम हुन्छ ।’

संविधानको सो व्यवसथ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्ने व्यवस्था छ ।

अहिले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाहेक अन्य दलको संस्थागत सहभागिता देखिन्न । उपेन्द्र यादव उक्त गठबन्धनमा भए पनि उनले दलको प्रतिनिधित्व नगर्ने जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले बताए । व्यक्तिगत रुपमा पक्ष विपक्षमा उभिनुको अर्थ नरहेको उनको भनाइ छ ।

दलले समर्थन गरेको निर्णय पेश नहुन्जेल व्यक्तिगत रुपमा यति सांसदहरुको समर्थन छ भनेर लैजान नमिल्ने भएकाले जसपाको भरमा देउवा र प्रचण्डलाई नयाँ सरकार गठन गर्न अघि नबढ्न ठाकुृर र महतोले सुझाव दिएका छन् ।

त्यसका लागि कि त उपेन्द्र यादवले नयाँ दल दर्ता गर्नुपर्छ । राष्ट्रपतिले दिएको ३ दिनको समयभित्र जसपा फुटाएर बाबुराम भट्टराई र उपेन्द्र यादवले नयाँ दल दर्ता गर्न पनि सम्भव नरहेको नेताहरु बताउँछन् ।

माधव नेपाल पक्षसँग पनि अहिले दलीय हैसियत नरहेको र उपेन्द्र यादवले जसपाको दलीय आधिकारिता बोक्न नसक्ने भएकाले तीन दिनभित्र वैकल्पिक सरकारको सम्भावना नरहेको महतोले नेपाल प्रेसलाई बताए ।

उनले भने–पार्टीको प्रथम अध्यक्ष महन्थ ठाकुरजीले राष्ट्रपतिलाई पत्र लेखेर दिइसकेपछि अरु कुनै जसपाका सांसदको समर्थन मलाई छ भनेर अर्को दल जाँदैमा वैधाकिता हुँदैन । राष्ट्रपति कार्यालयले त पार्टीको आधिकारिक प्रथम अध्यक्षलाई चिन्छ,दलको समर्थन बिना व्यक्तिको समर्थन संवैधानिक हुन्न ।

त्यस्तो अवस्थामा माधव नेपाल पक्षका २० जना सांसदले राजीनामा दिए पनि वैकल्पिक सरकारका लागि कांग्रेस–माओवादी गठबन्धनलाई बहुमत नपुग्ने अवस्था आउनेछ । उसै पनि माधव पक्षमा राजीनामा गर्ने संख्या न्यून भएकै कारण सोमवार सो निर्णयबाट पछि हटेर अनुृपस्थित भएको अवस्था छ ।

जसपाको महन्थ ठाकुर पक्ष सभामुख अग्नि प्रसाद सापकोटसँग समेत अशन्तुष्ट देखिएको छ । प्रतिनिधि सभामा बोल्नका लागि अन्य दलका मुख्य नेतालाई मात्र समय दिइएकोमा सभामुखले जसपाका प्रथम अध्यक्षलाई बोल्न दिएपछि लगत्तै उपेन्द्र यादवलाई समेत बोल्न दिएर दल विभाजन गरिदिएको आरोप ठाकुर पक्षको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर