सुदूरपश्चिममा कोरोना महामारी: समयमा उपचार नपाएर जान थाल्यो संक्रमितको ज्यान

कैलालीको टिकापुर अस्पतालमा शय्या नपाएपछि सोमबार एकजना कोरोना संक्रमित पुरुषको घर पुर्‍याउनेवित्तिकै निधन भयो । टिकापुर अस्पतालमा उपचाररत संक्रमितमध्ये गएको दुई दिनमा १० जनाको मृत्यु भएको छ ।

अस्पतालमा १३ जना कोभिड–१९ एचडीयूमा भर्ना छन् । ३५ जना शंकास्पद संक्रमित डाक्टरको निगरानीमा छन् । अस्पतालमा शय्या अभाव हुँदा उनीहरूको अस्पताल बाहिर आँगनमा राखेर उपचार भइरहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल भन्छन्, ‘समुदायमा संक्रमण फैलिसकेको छ । जटिल संक्रमितलाई बचाउन कठिन छ ।’
संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । ‘अहिलेसम्म जसोतसो गरी काम चलाइरहेका थियौँ, अब त अक्सिजन नै सकिन लाग्यो,’ उनले भने ।

धनगढीमा निजी क्षेत्रबाट सञ्चालित एक मात्र मालिका अक्सिजन उद्योग छ । त्यो उद्योगमा दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन गर्न सक्ने क्षमता रहेको भनिए पनि मुस्किलले १ सय ५० सम्म उत्पादन भइरहेको छ ।

प्रयोगविहीन उपकरण

विरामीे धमाधम मृत्यु भइरहेको टीकापुर अस्पतालमा आईसीयू र भेन्टिलेटर भने प्रयोगविहीन भएको छ । एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटरसहितको आईसीयू प्रयोगविहीन छ ।

अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसियुमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना संक्रमित उपचार नपाएर ज्यान गुमाइ रहेका छन् ।

अस्पतालले हाल २० शय्याको एचडीयु (उच्च उपचार कक्ष) स्थापना गरेर कोरोना संक्रमितको उपचार गर्दै आएको छ । अध्यक्ष रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको बताए । ‘गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौं, आफू पनि खोजिरहेका छौं तर पाउन सकेका छैनौं,’ उनले भने, ‘संघीय मन्त्रालय, प्रदेश सरकारमा कुरा गर्दा पनि अहिलेसम्म पाएका छैनौं ।’

अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गरे ।

पहाडी जिल्लामा झन् समस्या

शुक्रवार बैतडीको पाटन नगरपालिका–४ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो । अघिल्लो दिन कोरोना पुष्टि भएर जिल्ला अस्पतालमा उपचार गराइरहेका उनको थप उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अस्पतालमा आईसीयु र भेन्टिलेटर छैन । ‘आईसीयू र भेन्टिलेटर भएको भए उहाँको ज्यान जोगाउन सकिने थियो’ अस्पतालका एक स्वास्थ्यकर्मीले भने । कोरोनाको दोस्रो लहरबाट जिल्लामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला जिल्लामा उपचारका स्रोतसाधनको अवस्था भने चिन्ताजनक रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले स्वीकारे ।

एक सातादेखि बिरामी रहेका बाजुराको बडीमालिका नगरपालिका ९ का वडाध्यक्ष विनोदकुमार विक शनिवार जिल्ला अस्पताल गए । उनलाई शनिवार नै कोरोना संक्रमण पुष्टि भयो । त्यो बेला सम्म उनको अवस्था जटिल भइसकेको थियो । तत्काल भेन्टिलेटर आवश्यक पर्‍यो । तर, अस्पतालमा भेन्टिलेटर थिएन ।

अस्पतालले उनलाई धनगढी लैजान सुझाव दियो। परिवारका सदस्यहरूले त्यसै गरे । अन्ततः उपचारको लागि डडेल्धुरा लैजाने क्रममा अछामको साँफेबगरमा उनको मृत्यु भयो ।

‘अक्सिजनसहित भेन्टिलेटर भएको भए सायद उहाँ बाच्नु हुन्थ्यो होला,’ जिल्ला अस्पतालका फोकल पर्सन चुणामणि पन्तले भने, ‘उपकरण प्रयोग नहुँदा उहाँको ज्यान गयो ।’

जिल्ला अस्पतालमा उपकरण नभएको होइन । तर, प्रयोग भएको छैन । जनशक्ति नभएको भन्दै अस्पतालले आईसीयू र भेन्टिलेटर थन्क्याएर राखेको छ ।

सोमबार बिहान पनि जिल्ला अस्पतालका २ जना संक्रमितले ज्यान गुमाएका छन् । अहिले अस्पतालमा भएका उपकरणहरू प्रयोगविहीन हुँदा जटिल प्रकारका संक्रमितहरुलाई बचाउनै समस्या देखिएको छ ।

यो समस्या बाजुराको मात्रै होइन । कैलालीको सेती अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र डडेल्धुराको डडेल्धुरा अस्पताल बाहेकका सबै ६ जिल्ला अस्पतालहरुमा यस्तै अवस्था छ ।

सुदूरपश्चिम प्रदेशमा प्रत्येक दिन १० जना भन्दा बढी कोरोना संक्रमितको मृत्यु भइरहेको छ । आइतबार यो संख्या बढेर १८ पुगेको छ । हाल सम्म प्रदेशमा २०८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चरणको कोरोना महामारीका बेला उपलब्ध गराएको भेन्टिलेटर र आईसीयू शय्या अहिले पनि प्रयोगविहीन छन् ।

विशेषज्ञ चिकित्सक नै कम रहेको सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिएकाले जोखिम बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । आइसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियनसमेत छैनन् ।

पछिल्लो समय लक्षण सहितका जटिल खालका संक्रमितको संख्या बढिरहेको हुँदा ठूलो समस्या उत्पन्न हुन थालेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए ।

‘समुदायमा महामारी फैलिएपछिको जटिल अवस्थाको अनुमान गरेर पूर्वाधार, आईसीयू र भेन्टिलेटर थप गर्ने व्यवस्थापनको गरिनु आवश्यक छ,’ उनले भने।

सरकारले फिर्ता माग्यो उपकरण

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा थन्किएका भेन्टिलेटर फिर्ता मागेको छ ।
जनशक्ति अभावमा सञ्चालनमा नआएका भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ ।

जनशक्ति अभावमा चलाउन नसकेका अस्पतालबाट भेन्टिलेटर फिर्ता दिन पत्राचार भएको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. जगदीश जोईले बताए ।

‘पहाडका ६ जिल्ला अस्पताललाई १०/१० शय्या आईसीयू र २/२ वटा भेन्टिलेटर दिएका थियौँ, तर त्यहाँ उपकरण प्रयोग नभएपछि हामीले फिर्ता मागेका हौं ।

उनले जनशक्ति नभएको जिल्लामा उपकरण प्रयोगविहीन राख्नु भन्दा जनशक्ति भएका ठाउँमा सञ्चालन गर्नु उपयुक्त ठानेर फिर्ता मागेको बताए ।

प्रदेशका दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र बाजुराका जिल्ला अस्पतालमा २–२ भेन्टिलेटर छन् । ती सबै प्रयोगमा छैनन् । उपकरण चलाउन सक्ने आवश्यक जनशक्ति नभएर सञ्चालन गर्न नसकिएको ती अस्पतालले जनाएका छन् ।

अहिले सेती प्रादेशिक अस्पतालमा १०, टीकापुर अस्पताल ७, महाकाली अस्पतालमा ६ र डडेल्धुरा अस्पतालमा ६ वटा भेन्टिलेटर चालू अवस्थामा छन् ।

अक्सिजनको चरम अभाव

धनगढीमा निजी क्षेत्रबाट सञ्चालित एक मात्र अक्सिजन उद्योग छ । मालिका अक्सिजन उद्योग अहिले अहिले १ सय ५० सिलिन्डर सम्म उत्पादन गरिरहेको छ । यति सेती प्रादेशिक अस्पताललाई मात्रै आवश्यक सिलिन्डर हो । तर, ९ जिल्लालाई नै वितरण गर्नु पर्ने बाध्यता छ उद्योगलाई ।
यस्तो अवस्थामा जिल्लाका सबै अस्पतालहरूमा अक्सिजनको अभाव सृजना भएको छ । ।

त्यसो त सेती अस्पतालको पनि आफ्नै अक्सिजन जेनेरेसन प्लान्ट छ । त्यहाँ दैनिक रूपमा ७५ सिलिन्डर भर्न सकिन्छ । तर, उक्त प्लान्टले पनि आवश्यक मात्रामा अक्सिजन उत्पादन गर्न सकिरहेको छैन । अस्पतालमा आवश्यक पर्ने आधा भन्दा बढी अक्सिजन बाहिर बाट ल्याउनु पर्ने बाध्यता छ ।

अहिले एउटै अक्सिजन दुई जना बिरामीलाई दिएर समेत जोहो गरिरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

कोरोना संक्रमण भयावह बन्दै गएपछि कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन निर्माण गरिएको छ । तर अक्सिजन र जनशक्ति अभावले सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

अक्सिजन र जनशक्ति व्यवस्थापनका लागि पहल भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘हामीले सक्दो प्रयास गरिरहेका छौं,’ मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘कोरोना संक्रमण नियन्त्रण बाहिर गइसकेको छ । रोकथामका लागि सक्दो प्रयास गर्दै छौं । सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेलौं ।’

सेतीमा विशेषज्ञ छैनन्, आवेदन पनि पर्दैन

सुदूरपश्चिम प्रदेशको रेफ्रल अस्पताल हो, सेती प्रादेशिक अस्पताल । यहाँ प्रदेशमा सबै भन्दा धेरै संक्रमितको उपचार हुन गरेको छ । तर, सीमित उपकरण हुँदा यहाँ पनि समस्या छ ।

अस्पतालका कोरोना संक्रमितको लागि भनेर ५ वटा भेन्टिलेटर प्रयोगमा ल्याइएको छ ।

आइतबार साँझ सम्म अस्थायी कोरोना अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये ५ जनाको भेन्टिलेटरमा उपचार भइहरेको छ । १८ जना आईसीयूमा छन् । २६ जनालाई अक्सिजन दिएर राखिएको । ५ जना मोड्रेटमा छन् ।

कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले चाहिने जनशक्ति थप गर्न थालेको छ । तर, विशेषज्ञ डाक्टरको लागि कसैले आवेदन दिएका छैनन् ।

२ जना जना बाल रोग विशेषज्ञ, ३ जना फिजिसियन, १ जना मानसिक रोग विशेषज्ञ, १ जना कन्सल्टटेन्ट मेडिकल जनरलिष्ट र १ जना माइक्रो बायोलोजिष्ट कन्सल्टटेन्ट माग गरिएकोमा आवेदन नपरेको अस्पतालका प्रशासन अधिकृत दिलिप सिंह साउदले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *