एमाले कास्कीका नेता भण्डारीको कोरोना संक्रमणबाट निधन – Nepal Press

एमाले कास्कीका नेता भण्डारीको कोरोना संक्रमणबाट निधन

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (माधव पक्ष) शोभाखर भण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । ६३ वर्षीय भण्डारीको उपचारकै क्रममा निधन भएको हो ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका उनको मणिपाल अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला अध्यक्ष (माधव समूह) धनराज आचार्यले जानकारी दिए ।

‘एकहप्ताअघि कोरोना पुष्टि भएर स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना हुनु भएको थियो । बचाउन सकिएन,’ उनले भने ।

लामो समय नेकपा एमालेको सक्रिय राजनीति गरेका भण्डारी पछिल्लो समय प्रतिनिधि सभा विघटनपछि माधव नेपाल पक्षमा खुलेका थिए । केही समयअघि नेपाल समूहले गरेको समानान्तर कमिटी गठनमा उनी जिल्ला उपाध्यक्ष चुनिएका थिए ।

भण्डारी कास्कीका विभिन्न संघसंस्थामासमेत आवद्ध थिए । अविभावक संघ, कास्की समाज अन्तर्राष्ट्रिय परिषद्, आदर्श समाज, पुष्पलाल मित्रता केन्द्रलगायत संघसंस्थामा आवद्ध थिए । ‘पञ्चायत कालदेखि नै निरन्तर रुपमा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । क्रान्तिकारी विचारधारा र हकी स्वभाव थियो,’ आचार्यले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर