एनएसएलको पहिलो क्वालिफायरमा आज काठमाडौं र धनगढी भिड्दै – Nepal Press

एनएसएलको पहिलो क्वालिफायरमा आज काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको पहिलो क्वालिफायरका रुपमा फाइनल प्रवेशका लागि शीर्ष स्थानमा रहेर लिग चरण टुंग्याएको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । यो खेलको विजेताले सिधै फाइनल खेल्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरको विजेतासँग इलिमिनेटर खेल खेल्नेछ । यसको अर्थ आजको खेलमा पराजित भए पनि फाइनल प्रवेशका लागि दोस्रो अवसर हुनेछ ।

लिग चरणमा ४ जित, १ बरारबरी र १ हारसँगै १३ अंकका साथ शीर्ष स्थानमा रहेको काठमाडौं उच्च लयमा छ । विकेश कुथु मार्की खेलाडी तथा राष्ट्रिय टोलीको प्रशिक्षक हुँदाहुँदै जिम्मेबारी संहालेका बालगोलपाल महर्जनको चतूर रणनीतिले काठमाडौंलाई एकपछि अर्को खेलमा सफल बनाउँदै लगेको छ ।

काठमाडौंका विदेशी स्ट्राइकर मेसोउके ओलोमोउ उच्च लयमा छन् । प्रतियोगितामा उनले ह्याट्रिकसहित सर्बाधिक ५ गोल गरेका छन् । लिगका पछिल्ला २ खेल काठमाडौंको उच्च लयको सूचक रह्यो ।

जहाँ उसले विराटनगरलाई २–० ले पछि परेको स्थितिबाट पुनरागमन गरी ५–४ गोलअन्तरको जित हासिल ग¥यो । अन्तिम खेलमा मार्की तथा गोलरक्षक विकेशसहित अधिकांश पहिलो रोजाइका खेलाडीलाई आराम दिएर पनि चितवनलाई २–१ ले हरायो ।

लिगको आफ्नो पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० गोलले पराजित भएयता लगातार सुधारिएको प्रदर्शनसहित धनगढी पनि काठमाडौंजस्तै लिगको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली हो ।

धनगढीले ३ जित, १ बराबरी र २ हारको नतिजाले १० अंक जोडेर लिग चरणमा दोस्रो स्थानमा रह्यो । लिगको अन्तिम खेलमा अधिकांश दोस्रो रोजाईका खेलाडी उतारेको उसले बुटवल लुम्बिनीसँग १–० को पराजय ब्यहोरेको थियो ।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका गोलरक्षक किरण चेम्जोङ प्रेरित धनगढीले अग्रपंक्तिमा ओलावाले अफिजको प्रदर्शनमा निर्भर देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर