जलेश्वरको केही क्षेत्र पूर्ण रुपमा बन्द – Nepal Press

जलेश्वरको केही क्षेत्र पूर्ण रुपमा बन्द

जनकपुरधाम । महोत्तरी प्रशासनले जलेश्वर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा थप कडाई गर्ने भएको छ ।

जलेश्वर क्षेत्रमा मात्रै आधा दर्जन व्यक्तिको कोरोनाबाट निधन भएको भन्दै जिल्ला प्रशासन महोत्तरीले जलेश्वरबजारको केही क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले भोली विहान ६ बजेदेखि नगरक्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार अर्का सूचना जारी नभएसम्मका लागि जलेश्वर बजारको मिना बजार तथा आसपास क्षेत्र, साहुजीपट्टी र महादेव मन्दिर क्षेत्रलाई पूर्ण रुपमा बन्द रहनेछ । निर्णयको बर्खिलाप गरेमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने उनले बताए । महोत्तरी जिल्लाभर वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ ।

प्रशासनकै निर्णय अनुसार निषेधाज्ञाका बेला पनि विहान ७ देखि १० र बेलुकी ४ देखि ७ बजेसम्म खाद्यान्न, फलफूल, दुध डेरी ग्यास पसल सञ्चालनमा हुन्छ । तर पूर्ण निषेधित क्षेत्रमा अत्यावश्यक पसलहरु पनि केहिदिनका लागि बन्द रहने प्रजिअ भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *