प्रचण्डद्वारा कोभिड १९ बिशेष म्यागाजिनको विमोचन हुँदै – Nepal Press

प्रचण्डद्वारा कोभिड १९ बिशेष म्यागाजिनको विमोचन हुँदै

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले केटीबी एडर्भटाइजिङ्ग एजेन्सी एण्ड मिडीया सर्भिस प्रा.लि., चितवनले प्रकाशित कोभिड– १९ बिशेष “ एटुजेड बिजनेश पेज ̏ को मंगलबार विमोचन गर्ने भएका छन् ।

उक्त म्यागाजिनको विमोचन समारोह भरतपुरमा गर्ने तय भएपनि पनि कोरोनाको महामारी बढ्दै गएका कारण जारी भएको निषेधाज्ञाका कारण सृजना भएको असहज परिस्थितलाई ध्यानमा राखी भर्चुअल प्रविधिबाट विमोचन गर्न लागिएको प्रकाशक संस्था केटीबी एडभर्टाइजिङ्गले जनाएको छ ।

’हामीले यो म्यागाजिनको विमोचन भौतिक रुपमै गर्ने पूर्ण तयारी गरिसकेका थियौं । मिति समेत तय गरिसकेको अवस्था थियो तर अकस्मात जारी भएको निषेधाज्ञाका कारण विमोचन कार्यक्रम भर्चुअल मोडालिटीमा गर्नु परेको हो ’ केटीबी एडभर्टाइजिङ्ग एजेन्सीका अध्यक्ष किशोर चन्द्र सापकोटाले भने ।

’प्रचण्ड’ प्रमुख अतिथि रहने उक्त विमोचन समारोह जुम भुर्चअल प्रविधिबाट मंगलबार बिहान ८ बजे शुरु हुने जनाइएको छ । यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको र आमन्त्रित अतिथिहरुलाई जुम आईडी प्रदान गरी सहभागी गराइने पनि सापकोटाले बताए । चितवनबाट कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन हुने उक्त कार्यक्रममा दाहालले भर्चुअल प्रविधिबाट काठमाडौंबाट म्यागाजिनको विमोचन गर्नेछन् ।

म्यागाजिनका सम्पादक सूर्यप्रसाद अधिकारीले लामो समयको प्रतिक्षा पश्चात विभिन्न कठिनाई बीच म्यागाजिनको विमोचन गर्न लागिएको बताए ।गतसालबाट शुरु भएको महामारीले विभिन्न व्यवसाय , विकास निर्माण र समग्र संचार क्षेत्रमा परेको असरको बिषयमा म्यागाजिन केन्द्रीत भएको अधिकारीले जानकारी दिए। ’यो म्यागाजिन मार्फत हामीले देशको विभिन्न क्षेत्रलाई कोरोनाले पारेको असरलाई उजागर गर्न खोजेका छौं । यी विषय अहिले झन सान्दर्भिक बन्दै गएको छ’ अधिकारीले भने ।

म्यागाजिनमा चितवन आधार क्षेत्र बनाएर संचारक्षेत्र, कृषि शिक्षा, स्वास्थ्य , पर्यटन उद्योग, साना व्यवसायलाई समेटेर कोभिडले यस क्षेत्रमा परेको असर, चुनौति , संभावनाका साथै विषयविज्ञ, प्राध्यापक डाक्टरका लेख, व्यवसायीका धारणा,उद्योग व्यवसायका प्रोफाइल, अन्तवार्ता, कोभिड बीच महानगरमा भएका विकास निर्माण लगायतका विषयवस्तुलाई समेटिएको छ ।

‘यो एउटा दस्तावेज बन्न सफल भएको छ, यसका विषयवस्तु, लेख रचना उत्तिकै सान्दर्भिक र मार्गनिर्देशक छन भन्ने विश्वास लिएका छौं ।’ उनले भने । विशेष अवस्थामा केन्द्रित भई विशेष म्यागाजिनको रुपमा प्रकाशित यो म्यागाजिन संभवतः चितवनमा पहिलो म्यागाजिन भएको अधिकारीको भनाई छ ।

कुल ११२ पृष्ठ लामो रंगीन यस म्यागाजिनमा कोभिड १९ को समयको शुरुवाती समय , मध्यमसमय र मत्थर भइसकेको अवस्थालाई मिहिन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *