लापरवाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनको पत्र – Nepal Press

लापरवाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनको पत्र

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना संक्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाएको जानकारी दिए । ‘कारवाहीको प्रक्रिया शुरु गरेका छौ । त्यसका लागि अस्पताललाई पत्र पठाएका छौ’, उनले भने। उनले अनुसन्धानका धेरै पाटो अहिले नै खुलाउन नहुने जानकारी दिँदै अस्पताललाई पत्र पठाएको स्पष्ट पारे । उनले भने, ‘यो अनुसन्धानको पाटो हो । धेरै कुरा अहिले नै खुलाउन नमिल्ला ।’ उनले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने बताए ।

पन्ध्र शय्याको स्विकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको थियो । स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना संक्रमितलाई भर्ना लिइएको थियो । दिउँसोदेखि नै अक्सिजनको अभाव झेलेको अस्पतालले समयमा अक्सिजनको व्यवस्था गर्न नसकेपछि राति आइसीयु र भेन्टिलेटरमा उपचार गराइरहेका बिरामीलाई समेत निकालेर अन्यत्र लैजान बिरामीका आफन्तलाई दबाब दिएको थियो ।

सोही क्रममा अक्सिजन नहुँदा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित भक्तपुर कमलविनायकका ४५ वर्षीय पुरुषको सोही अस्पतालमा मृत्यु भएको थियो भने अस्पतालले अन्यत्र लैजानु भन्दै आइसीयुबाट बाहिर निकालेका पोखरा स्थायी घर भएका ६० वर्षीय पुरुषको अल्का अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सो अस्पतालले बिरामीलाई रिफरको कागजपत्र नदिई जबरजस्ती अन्यत्र लैजान भन्दै बिरामीलाई आइसीयुबाहिर निकालेको मृतकका आफन्तको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *