नेपालबाटै फेसबुक विज्ञापन गर्न मिल्ने, फिट इन्टरनेशनलसँग सम्झौता – Nepal Press

नेपालबाटै फेसबुक विज्ञापन गर्न मिल्ने, फिट इन्टरनेशनलसँग सम्झौता

काठमाडौं । फिट इन्टरनेशनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ ।

नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटर र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायीले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्ने भएका छन् ।

अहिलेसम्म यस्ता विज्ञापनको भुक्तानी अनौपचारिक रूपमा गरिदै आएको थियो । अनौपचारिक एक तथ्यांक अनुसार नेपाली व्यावसायीले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग दुई अर्ब खर्च गरिरहेका छन् ।

फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्र्याक गर्न सकिने भएको छ । अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र हिसाब-किताब राख्न सक्नेछ । यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउनसँगै सम्बन्धित सबै पक्षका लागि सहज भएको छ ।

यस कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंहलले नेपालको उद्योग राम्रो हुँदै जादा यसबाट बढी फाइदा लिन सकिने बताए ।

‘यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धिको प्रतिनिधित्व गर्दछ। हामी भविष्यमा उद्योगलाई फाइदा पुर्याउने गरी साझेदारी गर्न चाहान्छौं’ , उनले भने ।

फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने र यसरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंक मार्फत मान्य हुने कम्पनीले जनाएको छ । यसका लागि आईआरडी गाइडलाइन समेत पूर्ण रूपमा पालना गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर