अक्सिजन उत्पादन र मागबारे मन्त्रालय नै बेखबर ! – Nepal Press

अक्सिजन उत्पादन र मागबारे मन्त्रालय नै बेखबर !

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र भएसँगै अक्सिजनको खपत पनि बढेको छ ।

काठमाडौंका ६ अस्पतालले थप नयाँ संक्रमितलाई अक्सिजन अभावले थप बिरामीलाई उपचार गर्न नसकिने भन्दै विज्ञप्ति जारी गरेका छन् ।

अल्का, मेडिकेयर, नेपाल-भारत मैत्री, गणेशमान सिंह मेमोरियल अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले विज्ञप्ति निकालेर अक्सिजन अभाव भएकोले नयाँ बिरामीलाई उपचार गर्न नसक्ने बताएको छ ।

नेपालमा कति अक्सिजन ग्यास उत्पादन हुन्छ र अहिले माग कति छ भन्नेबारे स्वास्थ्य मन्त्रालय भने बेखबर छ । मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले भने, ‘हामीले कोभिड संकट व्यवस्थापन केन्द्रलाई यति कोरोनाको बिरामी छन् भनेर जानकारी दिने हो । हामीलाई अक्सिजन कति उत्पादन हुन्छ र कति आवश्यकता हो भन्ने जानकारी हुँदैन ।’

सीसीएमसी सचिव खगराज बराल पनि नेपालमा कति अक्सिजन उत्पादन र आवश्यकताबारे जानकारी नभएको बताउँछन् । उनले भने, ‘हामीलाई जानकारी हुँदैन । यो विषयमा उद्योग मन्त्रालयलाई जानकारी होला ।’

उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले उद्योग विभागसँग अक्सिजन उद्योगको विवरण मागिएको बताइन् ।

उद्योग विभागको तथ्याङ अनुसार नेपालमा २२ वटा अक्सिजन उद्योगहरु सञ्चालनमा छन् । अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि विभिन्न २२ अस्पतालले अक्सिजन प्लान्ट नै शुरू गरेका छन् ।

नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारदाले नेपालमा हाल भइरहेको अक्सिजन उत्पादन परिणामबारे थाहा नभएको जवाफ दिए । शारदाले भने, ‘अक्सिजन सिलिन्डरको अभावका कारण उद्योगले क्षमता अनुसार अक्सिजन उत्पादन गरेर भर्न भाएको छैन । पूर्वका अक्सिजन उद्योगले अक्सिजन सिलिन्डर हुने हो भने दैनिक थप १ हजार नयाँ सिलिन्डर भर्न सक्ने थिए । तर, नेपालमा अहिले सिलिन्डरको अभाव भएकोले उत्पादन भएकोसमेत प्रयोग गर्न सकिएको छैन । हामी नेपालमा उत्पादन भएको अक्सिजनको तथ्यांङ जम्मा गरेर सरकारलाई बुझाउने तयारी गरिरहेका छौं ।’

शारदाले भने, ‘बिरामीको संख्या हेरेर मात्रै नेपालमा उत्पानदन भएको अक्सिजन ग्यास पुग्छ कि पुग्दैन भन्न सकिने हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या धेरै छ । अक्सिजन भर्ने सिलिन्डर हुने हो भने उत्पादन भएको अक्सिजन प्रयोग गर्न सकिन्थ्यो । अहिले सिलिन्डर नै अभाव छ । कारोना भाइरस आउनुभन्दा पहिले नेपालमा अक्सिजनको खासै उत्पादन र खपत थिएन । नेपालमा उत्पादन भएको अक्सिजन पनि केही अस्पाताल, क्रसर र हाइड्रोपावर लगायतका उद्योगहरुले थोरै मात्र प्रयोग गर्ने गरेका थिए । कोरोनाको दोस्रो लहर आएपछि नेपालमा सिलिन्डरको अभाव भएको हो ।’

सरकारको आग्रह अनुसार हाइड्रोपावर र क्रसरलगायतका उद्योगले आफूले प्रयोग गरिरहेको अक्सिजन सिलिन्डर दिन थालेका छन् ।

नेपाल क्रसर तथा खानी उद्योग महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) लगायतका अक्सिजन प्रयोग गर्ने उद्योगहरूले अपिल सार्वजनिक गर्दै अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *