माधव नेपाल पक्षमा मतभेद, घनश्याम-योगेश लगायतका नेता बेग्लै छलफलमा – Nepal Press

माधव नेपाल पक्षमा मतभेद, घनश्याम-योगेश लगायतका नेता बेग्लै छलफलमा

काठमाडौं । सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको छ ।

घनश्याम भुसाल,योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा परेका हुन् ।

नेपाल पक्षका सांसदहरूको बैठकमा पनि घनश्याम योगेश पक्षले राजीनामा दिन नहुने बताएको थियो । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।

त्यस लगत्तै माधव नेपाल पक्षकै घनश्याम योगेश लगायतका नेताहरु अलग्गै बैठकमा छन् । विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारवाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने दबाब यी नेताहरुमाथि छ ।

आइतबार रातिदेखिनै ठाकुर गैरे लगायतका नेताहरुले घनश्याम र योगशहरूलाई राजीनामा नगर्न दबाब दिएका थिए ।

जुम बैठकमा बाझाबाझ

स्रोतका अनुसार सांसदहरूको बैठकअघि आज बिहान माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको जुम बैठक भएको थियो । त्यस बैठकमा नेताहरूबीच राजीनामा दिने कि ओलीलाई विश्वासको मत दिएर पार्टी एकता जोगाउन अन्ति प्रयास गर्ने भन्ने बारे मतभेद भएको थियो ।

माधव नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेता कुनै पनि हालतमा केपी ओलीसँग रहन नसकिने भन्दै राजीनामा दिएर नयाँ पार्टी गठनको प्रक्रियामा जानुपर्ने पक्षमा उभिए । तर, घनश्याम, योगेश, गोकर्णलगायतका नेता विपक्षमा उभिएपछि केही नेताबीच बाझाबाझ भएको स्रोतले जनाएको छ । जुम बैठकमा सुरेन्द्र पाण्डे भने एक शब्द पनि बोलेनन् । उनी पनि राजीनामाको विपक्षमा थिए ।


प्रतिक्रिया

One thought on “माधव नेपाल पक्षमा मतभेद, घनश्याम-योगेश लगायतका नेता बेग्लै छलफलमा

  1. ओलीवालाको उक्साहटमा बिषय बढाइचढाइ नगर्नुस। बिश्वासको मत नदिनेमा माधवपक्ष एकमत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर