समयमा पानी नपर्दा यस वर्ष चिया उत्पादन घट्यो, निकासीमा कोरोना झमेला – Nepal Press

समयमा पानी नपर्दा यस वर्ष चिया उत्पादन घट्यो, निकासीमा कोरोना झमेला

इलाम । विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन ।

चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो ।

गत वर्ष तीन हजार किलो हरियोपत्ती संकलन गरेका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादन घट्यो। सायद फागुनमा पानी परेको भए यो समस्या हुन्थेन,’ उनले भने ।

चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन ।

अघिल्ला वर्षमा पनि यही सिजनको पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले बताए ।

‘पानीको त मुख्य समस्या नै भयो तर मल अभाव हुँदा पनि चिया घटेको छ,’ कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अर्गानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नु प¥यो ।

निकासीमा उस्तै लफडा

उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ तर यसपटक भने कोरोनाका कारण सहजरूपमा चिया निकासी भएको छैन ।

कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि सङ्ख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरुबेला यहाँबाट गएको चिया अधिकतम मात्रामा बिक्री हुन्थ्यो,’ सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’

चिया लैजानु पूर्व एकपटक चियाको नमूना लैजानु पर्छ तर यसपटक पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो त्यो सिजनको चिया पहिले नै ‘स्याम्पल’का रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो तर यसपटक हालसम्म पुग्न सकेको छैन ।

देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरिदकर्ताले चाहेको समयमा चिया पु¥याउन नसक्दा बिक्री नहुने सम्भावना बढी हुन्छ । यसको लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालु आर्थिक वर्ष ०७७–०७८ मा ९ हजार ५ सय ७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ ।

गत आर्थिक वर्ष ०७६र०७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट दुई अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर