चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै – Nepal Press

चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

काठमाडौं । कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजन र सिलिण्डर अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ ।

जहाज आज राती साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४०० सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने छ ।

नेपाल सरकारले चीनबाट २० हजार सिलिण्डर ल्याउने बताए पनि अहिले एक पटकका लागि मात्र सरकारबाट पत्र आएको प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।

प्रवक्ता श्रेष्ठले चीनबाट अक्सिजन सिलिण्डर ल्याउनका लागि भाडादर नतोकिएको बताइन् । नेपाल एयरलाइन्सको ‘चाटर्ड रेट’ प्रतिघण्टा १५ हजार ५ सय २० डलर हो । यो अन्य व्याक्ति तथा संघसंस्थाका तोकिएको भाडादर हो ।

चीनको बेइजिङ जान आउनका लागि ११ घण्टा ३५ मिनेट लाग्नेछ । यसले निगमले राखेको भाडा दर अनुसार अक्सिजन सिलिन्डर ल्याउनका लागि १ लाख ७६ हजार १ सय ५२ डलर लाग्ने छ । प्रवक्ता श्रेष्ठका अनुसार अहिले नेपाल सरकारसँग जहाज भाडा दर यति नै भनेर सम्झौता भएकोे छैन ।

सोही विमानबाट १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको बताइएको छ । होङ्सी होल्डिङ ग्रुपको सहयोगमा अक्सिजन कन्सर्नट्रेटर ल्याउन लागिएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर