सेभियासँग बराबरी खेलेपछि रियल मड्रिड शीर्ष स्थानमा पुग्न असफल – Nepal Press

सेभियासँग बराबरी खेलेपछि रियल मड्रिड शीर्ष स्थानमा पुग्न असफल

एजेन्सी । घरेलु मैदान सान्टियागो वर्नबाउमा सेभियासँग २–२ गोलको बराबरी खेलेपछि स्पेनिस ला लिगामा सिजनको तीन खेल बाँकी रहँदा रियल मड्रिडले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

खेलको इन्जूरी समयमा सेभियाका डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि रियलले कम्तिमा १ अंक पाएको हो । टोनी क्रुजको प्रहार डिफ्लेक्ट हुँदा रियलले दुईपल्ट पछि परेर पनि बराबरी गर्न सक्यो । बराबरीपछि एट्लेटिको मड्रिडभन्दा २ अंकले पछाडि छ ।

फर्नान्डो रेगेजले २२ औं मिनेटमा गरेको गोलमार्फत पाहुना टोलीले पहिलो हाफमा अग्रता बनाएको थियो । सब्स्टिच्युड मार्को एसेन्सियोले ६७ औं मिनेटमा बराबरी गोल फर्काए ।

तर ७८ औं मिनेटमा बार्सिलोनाका पूर्व मिडफिल्डर इभान राकिटिचले पेनाल्टीमा गोल गरी पुनः सेभियालाई अगाडि बढाए । इडर मिलिटोले बक्सभित्र ह्याण्ड गरेपछि सेभियाले पेनाल्टी पाएको थियो ।

रियल मड्रिडले खेलको १२ औं मिनेटमै अग्रता बनाएको थियो । तर करिम बेन्जिमाको हेड गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भार)ले अफसाइड दिएको थियो ।

सिजनको तीन चरणका खेल बाँकी रहँदा एट्लेटिको ७७ अंकसहित शीर्ष स्थानमा छ भने रियल र बार्सिलोना समान ७५ अंकसहित क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । अघिल्लो दिन एट्लेटिको र बार्सिलोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

रियललाई हराउन सकेको भए सेभियाको पनि उपाधि सम्भावना बलियो हुन सक्थ्यो । समान खेलबाट सेभिया ७१ अंकसहित चौथो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर