माधव नेपालले अर्को दल दर्ता गर्ने, ओलीले शर्त नमाने सोमबार सामूहिक राजीनामा – Nepal Press

माधव नेपालले अर्को दल दर्ता गर्ने, ओलीले शर्त नमाने सोमबार सामूहिक राजीनामा

काठमाडौं । विभाजनको डिलमा पुगेको नेकपा (एमाले) जोगाउन आइतबार अन्तिम कसरत भए । त्यसकै प्रयास स्वरुप पार्टी अध्यक्ष केपी ओलीका प्रतिनिधि बनेर विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदबार पुगेर नेता माधव नेपालसँग र्वाता गरे ।

वार्ता सकरात्मक नभएपछि ओलीले पार्टी एकताको पक्षमा भन्दै अपील सार्वजनिक गरे । ‘कसैलाई पनि काखा पाखा गर्दिनँ’ भनिएको अपीलमा नेपाल पक्षलाई संकेत गर्दै पार्टीलाई फुटाउन अनेक काम गरेको आरोप लगाइएको छ ।

उता ओलीका प्रतिनिधिसँगको वार्ता लगत्तै आफू पक्षीय सांसदसँग सिंहदरबारमै छलफलमा जुटेको नेपाल पक्षले दुई सर्त अघि सार्दै त्यो पुरा गर्न भोलि बिहान ९ बजेसम्मको अल्टिमेट दिएको छ । २ जेठ २०७५ कै पार्टी प्रणालीमा फर्किने र त्यसपछि पनि सहमतिसाथ अगाडि बढ्ने दुई सर्त नमाने भोलि सोमबार बिहान साढे ९ बजे बैठक बसेर कडा निर्णय लिने चेतावनी नेपाल पक्षले दिएको छ ।

ओलीले अपील जारी गर्नु र नेपाल पक्षले अल्टिमेटम दिनुअघि भने आइतबार दिनभर चाख लाग्दा राजनीतक उपक्रम भए । एमाले जोगाउन ‘अन्तिम प्रयास’ स्वरूप भन्दै आइतबार बिहानै ओलीले नेता नेपाललाई फोन गरेका थिए । फोनमा ओलीको नेपाल सक्षम आग्रह थियो- ‘मेरो तर्फबाट सुवास नेम्वाङ र विष्णु पौडेल आउँदै छन्, उनीहरुले भन्ने कुरा नै मेरो हो । उनीहरुसँग वार्तामा बस्नू ।’

ओलीले वार्तामा खटाएपछि दिउँसो १२ बजेतिर नेपाल निवास कोटेश्वरमा भेट्ने प्रस्ताव नेम्वाङ र पौडेले राखेका थिए । तर, त्यही समयमा नेपाल पक्षको स्थायी कमिटी सदस्यबीच ‘भर्चुअल मिटिङ’ तय भइसकेको थियो । नेपालले ‘त्यो समयमा मेरो स्थायी कमिटी बैठक छ, त्यसपछि मात्रै भेटौं’ भन्ने जवाफ उनीहरुलाई दिएका थिए ।

त्यसपछि दुवै पक्षले दिँसो साढे तीन बजेतिर सिंहदरबारमा भेटेर छलफल गर्ने सहमति बनाए । त्यही अनुसार नेता नेपाल आफू पक्षीय सांसदसहित पहिले नै सिंहदरबार पुगिसकेका थिए ।

ओली पक्षका नेम्वाङ र पौडेल आएपछि संघीय संसद सचिवालयको भवनमा वार्ता भयो । नेम्वाङ र पौडेलसँग नेता नेपाल एक्लै वार्तामा बसे । संक्षिप्त वार्तामा ओलीको सन्देश पौडेलले प्रवाह गरेका थिए । ‘तपाईं धेरै अगाडि बढीसक्नुभयो । तपाईं यो गलत बाटोमा जाँदै हुनुहुन्छ, फर्किनुहासेस्,’ पौडेलको नेता नेपाल समक्ष आग्रह थियो ।

उनको त्यस्तो प्रस्तावमा नेता नेपालले भने कडा जवाफ दिए । ‘मेरो गठबन्धन भइसक्यो अरुसँग,’ नेपालको जवाफ थियो, ‘अर्को पार्टी दर्ता हुन्छ । मावध नेपाल केपी ओलीसँग झुक्छ भन्ने नसोचे हुन्छ ।’

नेपालको त्यस्तो जवाफ सुनेपछि फेरि विष्णु पौडेलले प्रश्न गरे- के अर्को पार्टी बनाएर चलाउन सक्नुहुन्छ त तपाईं ? ‘त्यो त्यसपछि थाहा हुन्छ,’ नेता नेपालको जवाफ थियो ।

करिब आधा घण्टा चलेको वार्तामा ओली पक्षले केही नयाँ प्रस्ताव समेत लिएर गएको थियो । घोषित भइसकेको महाधिवेशन आयोजक कमिटीमा दुई बरिष्ठ नेता यथावत राख्न सकिने र स्थायी कमिटी पनि पहिले कै यथावत राख्न तयार भएको ओलीको सन्देश पौडेल र नेम्वाङले सुनाएका थिए ।

२ जेठ २०७५ मा फर्किनुपर्ने अडान राख्दै आएका नेता नेपालले त्यो प्रस्तावमा खासै ‘इन्टरटेन’ गरेनन् । उनले ‘कुरा अब त्यो भन्दा धेरै अगाडि बढी सक्यो’ भन्ने जवाफ फर्काए । नेता नेपालले आफ्नो शर्तमा सहमति नभए ओलीसँग एक्लाएक्लै नभेट्ने सन्देश समेत सुनाइदिन दुई जनालाई भनेका थिए ।

त्यसपछि वार्ता लामो समय चल्न सकेन् । वार्ताबाट निस्केका नेता नेपाले संवाददातासँग प्रतिक्रिया दिन चाहेनन् । नेम्वाङले वार्ता सकरात्मक भए पनि कुरा नमिलिहालेको बताएका थिए ।

त्यसलगत्तै नेपाल आफू पक्षका सांसदसँगको छलफलमा जुटेका थिए । त्यसभन्दा पहिल्यै नेपाल पक्षका स्थायी कमिटी सदस्य भर्चुअल बैठकमा जुटेका थिए । बैठकमा सांसदले राजीनमा दिने वा नदिने बिषयमा लफडा नै चलेको थियो । ‘अहिले जसपाको ठाकुर पक्ष पनि तस्थष्ट बस्ने भएकाले केपी ओलीलाई विश्वासको मत प्राप्त हुँदैन । यस्तो अवस्थामा त्यसअघि नै किन राजीनमा दिने ?’ भन्ने मत त्यहाँ प्रकट भएको थियो । ‘ओलीको विपक्षमा बहुमत पुर्याउन आवश्यक पर्दा भने राजीनामा दिन हामी तयार छौं’ भन्ने भनाइ सांसदको थियो ।

सिंहदरबारमै चलेको करिब साढे ३ घण्टाको छलफलमा सांसदलाई वार्ताबारे ‘ब्रिफिङ’ गर्दै नेपालले वार्तामा केही पनि नयाँ कुरा नआएको र अब मिल्ने सम्भावना सकिएको बताएका थिए । नेता नेपालको ‘ब्रिफिङ’पछि भोलि सोमबार ९ वेजसम्मको अल्टिमेटम दिने, केपी ओलीबाट सर्त सम्बोधन नभए त्यसपछि साढे ९ बजे सांसदको बैठक बसेर सामूहिक राजीनामा दिने समझदारी बनेको थियो । त्यही व्यहोरा नेता योगेश भट्टराइले संवाददातालाई सुनाएका थिए ।

सांसदबीच आफूहरुले अल्टिमेटम दिएको समयभित्रै ओलीले सर्त सम्बोधन नगरे के गर्ने भन्नेमा छलफल भएको थियो । राजीनामा दिने, अनुपस्थित हुने या ‘फ्लोर क्रस’ तीन वटा विकल्पमा छलफल भएको थियो । तर, ती जुनसुकै विकल्प अपनाए पनि ओलीले कारबाही गरिहाल्छन्, त्यो भन्दा पहिले नै राजीनामा दिने भन्ने सहमित बनाएर नेपाल पक्षका सांसदको छलफल सकिएको थियो ।

यसअघि नेपाल पक्षभित्र समानुपातिक सांसदले राजीनमा नदिने, ओलीलाई रोक्नलाई जति चाहिन्छ, त्यतिले मात्रै राजीनामा दिने, प्रत्यक्ष निर्वाचितले मात्रै राजीनामा दिने भन्ने विकल्पमा पनि छलफल नभएको होइन् ।

तर, अन्तिममा नेपाल पक्ष अब अर्को पार्टी बन्ने नै भएपछि सबैले सामूहिक राजीनामा दिने भन्ने समझादरीमा पुगेको छ ।


प्रतिक्रिया

One thought on “माधव नेपालले अर्को दल दर्ता गर्ने, ओलीले शर्त नमाने सोमबार सामूहिक राजीनामा

  1. बाघले खाए नी किलो रित्तै भिरबाट लडे नि किलो रित्तै । उतिवेला वामदेव सि पी पार्टीलाइ बहुमत बाट बञ्चित गराएर कलंकको टिका लगाएका थिए । तपाँइहरु दुइतिहाइको सरकार गिराउने पात्रका रुपमा इतिहासमा सँधै स्मरणीय हुनुहुनेछ । देश माथि गद्दारी गरेको फल त तपाँइहरुले पाउनु नै हुनेछ । भिरबाट फाल्हाल्नेलाइ राम राम भन्न पर्नेहुन्छ ।वेकम्मा बुढाहरु त गएकै राम्रो तर विचरा केही युवा नेताहरु पनि शहीद हुने भए ।

Leave a Reply to सबैका मालिक जनता Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर