नेपाल प्रहरीको सक्रियतामा २५ सय भन्दा बढी अक्सिजन सिलिन्डर संकलन – Nepal Press

नेपाल प्रहरीको सक्रियतामा २५ सय भन्दा बढी अक्सिजन सिलिन्डर संकलन

काठमाडौं । नेपाल प्रहरील देशभरका विभिन्न स्थानबाट शनिबार साँझसम्म २ हजार ७ सय ८१ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । संकलन गरेका अक्सिजन सिलिण्डर नेपाल प्रहरीले कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको हो ।

ती मध्ये ९ सय वटा सिलिन्डर अस्पताललाई र १ हजार ८ सय ८१ वटा सिलिन्डर अक्सिजन उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा जम्मा गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको एसएसपी कुँवरले बताए ।

साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि जम्मा गरेर राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ । जथावाभी तवरबाट जम्मा गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकायमाथी प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुने बताइएको छ ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि जम्मा नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डर उपलब्ध गराई सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर