कांग्रेस नेतृत्वको सरकार मुलुकको आवश्यकता : डा.महत – Nepal Press

कांग्रेस नेतृत्वको सरकार मुलुकको आवश्यकता : डा.महत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने पहल जारी राखेको छ ।

कांग्रेस नेतृत्वमा वैकल्पिक सरकार बनाउन माओवादी सहमत भईसकेको छ । अन्य दलसँग पनि छलफल चलिरहेको कांग्रेस सहमहामन्त्री डा।प्रकाशशरण महतले जानकारी दिए ।

‘वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भइसकेको छ । मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्व आवश्यक देखिएको छ । आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसले सबैसंग परामर्श गरिरहेको छ’, महतले भने ।

उनले जसपाले कुनै अलमल नगरी कांग्रेस नेतृत्वमा सरकार बनाउने पक्षमा निर्णय लिनु उपयुक्त हुने बताए । ‘अब ओली सरकारको आवश्यकता छैन । जसपाले पनि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय लिनुपर्छ’, महतको भनाई छ । उनले संसदका सबै दलसंग पार्टी नेतृत्वले छलफल र परामर्श गरिरहेको समेत बताए ।

राजनीतिक अस्थिरतालाई निकास दिने, कोभिड नियन्त्रणमा प्रभावकारी काम गर्ने र आँउदो निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न अब बन्ने सरकार सक्रिय रहनुपर्ने महतको भनाई छ ।

कांग्रेसको कोभिड १९ उच्चस्तरीय अनुगमन समितिको संयोजक समेत रहेका महतले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप समेत लगाए । कोभिड १९ संक्रमण र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, बेड अभाव लगायत समस्या भएका कुराहरु मुलुकभरबाट आईरहँदा पनि सरकार पुरै असंवेदनशील र अर्कमण्य भएको महतको आरोप छ ।

 


प्रतिक्रिया

2 thoughts on “कांग्रेस नेतृत्वको सरकार मुलुकको आवश्यकता : डा.महत

  1. हा हा ! के जोक गरेको हौ महत दाइले पनि ???

  2. चुनाव खर्च त जुटाउनु पर्यो नि हैन!

Leave a Reply to कन्काई पुत्र Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर