कर्णालीमा कति छ अक्सिजन ? केन्द्रले थप पठाउने आशा – Nepal Press

कर्णालीमा कति छ अक्सिजन ? केन्द्रले थप पठाउने आशा

१०० शय्याका लागि अक्सिजन थपिँदै

सुर्खेत । अक्सिजन अभाव हुन थालेपछि कर्णालीले संघीय सरकारबाट सहयोग पाउने आशा गरेको छ । प्रदेशका अस्पतालमा अक्सिजनका साना-ठूला सिलिन्डर छन् ।

प्रदेश अस्पतालमा केही दिन अघि मात्रै अर्को अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि केही सहज भने भएको कोरोना फोकल पर्सन डा. के एन पौडेल बताउँछन् । बिरामीको सबैभन्दा बढी चाप हुने सुर्खेत प्रदेश अस्पतालमा ७० वटा अक्सिजनका छन् ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा १४ सिलिण्डर छ । दैलेख जिल्ला अस्पताल र दुल्लु अस्पतालमा साना ठूला गरी ७१ सिलिण्डर छन् । जाजरकोट अस्पतालमा ५०, कालीकोटमा ४०, मुगुमा २१, सल्यानमा २२ सिलिन्डर छन् । डोल्पामा १२ सिलिण्डर र पाँच वटा कन्सन्ट्रेटर (बत्ती र पानीद्वारा सञ्चालन हुने ) रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अम्मरसिंह शाहीले बताए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले चीनबाट आउन लागेको अक्सिजन सिलिण्डर कर्णालीलाई प्राप्त हुनेमा आफूहरू आशावादी रहेको बताए । ‘कम्तीमा कर्णालीमा एक हजार बढि सिलिण्डर आएको खण्डमा केहि राहत हुन्छ ’, उनी भन्छन्, ‘कर्णालीमा औधोगिक कारखाना पनि पर्याप्त नभएका कारण त्यति धेरैअक्सिजन सिलिण्डर कर्णालीमा रहेको भेटिएन । साना ठूला गरेर सबै स्वास्थ्य संस्था, अस्पतालमा एक हजार जति मात्रै अक्सिजन सिलिण्डर होलान् ।’

१०० शय्याका लागि अक्सिजन थपिँदै

प्रदेश अस्पताल कालागाउँको १०० शय्यामा अक्सिजन जडान गरिने भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अहिले नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएका कारण पाइपलाइन विच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

कालागाउँमा बेडको अभाव नरहेको कोरोना फोकल पर्सन डा. के एन पौडेल बताउँछन् । ‘यहाँ हामीलाई वेड अभावको समस्या होइन । वेड थप्न पनि सकिन्छ समस्या अक्सिजनको हो ।’ उनी भन्छन्, ‘हाल ९० जना संक्रमितलाई अक्सिजन दिएर उपचार गराइरहेका छौं ।’

प्रदेश अस्पतालमा नयाँ भेरियन्टसहितको कोरोना आएसँगै १५ जनाको मृत्यु भएको छ । ‘अहिले सञ्चालनमा ल्याइएको अक्सिजन प्लान्टले १०० र पुरानोले २० जनालाई अक्सिजन दिन सकिन्छ । हामी १५०
जनालाई अक्सिजनसहित उपचार गर्न सक्छौं ’, उनी भन्छन्, ‘त्यो भन्दा बढी बिरामी राख्न परेको खण्डमा हाललाई अक्सिजनले धान्न सक्दैन । हामीलाई कम्तीमा तीन सय सिलिण्डर प्राप्त भएको खण्डमा २०० जनालाई पुर्‍याउन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर