हुलाकी सडकको बलान-सिरहा खण्डमा कालोपत्र सुरु – Nepal Press

हुलाकी सडकको बलान-सिरहा खण्डमा कालोपत्र सुरु

सिराहा । हुलाकी सडकअन्तर्गत बलान-सिरहा खण्डमा कालोपत्र शुरु भएको छ ।

नेपालकै पुरानो राजमार्गका रूपमा रहेको हुलाकी सडकको पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजार खण्डमा कालोपत्रे सुरु गरिएको हो ।

सिरहा नगरपालिका–१९ देखि औरही गाउँपालिका–४ लवटोलियासम्मको करीब पाँच किलोमिटर सडक कालोपत्र सकिएको छ ।
करीब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र शुरु भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

दुई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा सम्झौता भएको निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर शशिकुमार यादवले जानकारी दिए ।

कम्पनीका म्यानेजर यादवका अनुसार स्वछन्द, रोशन, महादेव खिम्ती जेभी कम्पनिले तीन वर्षभित्र काम सकिने गरी सम्झौता भएको र निर्धारित समयभित्रै सकिने गरी काम भइरहेको छ ।

पूर्वराजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करीब १८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको जनाइएको छ ।

करीब २५ किलोमिटरको सो खण्डमा अहिले ११ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । डिभिएम सात मिटर र दुवै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ ।

मधेशकै लाइफलाइनका रुपमा मानिएको हुलाकी सडकको निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारणसमेत खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनाका साथै हजारौँ युवामा रोजगारीको अवसर सृजना हुने स्थानीयवासीको विश्वास छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *