संक्रमितको घरघरमै स्वास्थ्य सामग्री – Nepal Press

संक्रमितको घरघरमै स्वास्थ्य सामग्री

रुपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना संक्रमितका घरघरमा स्वास्थ्य सामग्री वितरण शुरु गरेको छ ।

यही वैशाख १३ गते गाउँ कार्यपालिकाको निर्णयअनुसार सङ्क्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण शुरु गरिएको हो । वैशाख १७ गतेदेखि कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेका संक्रमितका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीका अनुसार गाउँपालिकाले कोरोना सङ्क्रमितलाई शक्तिवद्र्धक औषधि, भिटामिन बी, भिटामिन सी, जिङ्क चक्की, च्यवनप्रास, सिटामोल, आवश्यकतानुसार एन्टिबायोटिक औषधि वितरण गरेको छ ।

त्यसैगरी ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, अक्सिजन र पल्स चेक गर्न पल्सअक्सिमिटर, मास्क र स्यानिटाइजरलगायतका सामग्री वितरण गरिएको छ । गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीका अनुसार कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेकाको स्वास्थ्योपचारका लागि गाउँपालिकाले घरमै सेवा दिन थालेको छ ।

घरमै बसेकाहरुले ज्वरोदेखि, अक्सिजनसमेत घरमै मापन गर्न सकुन र  शक्तिवद्र्धक औषधि खाएर निको गराउने उद्देश्यले घरमै सेवा दिएको अधिकारीको भनाइ छ ।

यो अभियान निरन्तर राख्नेसमेत उनको भनाइ छ । गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना संक्रमितको उपचार सहज र सर्वसुलभ बनाउन घरमै स्वास्थ्य उपचार गराउने निर्णय गरेको थियो ।

बुधबारसम्म बगनासकालीमा ३८ संक्रमित रहेको र नौ संक्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए । उनका अनुसार पालिकाले सङ्क्रमितको अवस्थाअनुसार आवश्यक उपचारको प्रबन्ध मिलाइएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर