प्रदेश २: १५ दिनमा थपिए ४ हजार बढी संक्रमित, अधिकांश घरमै – Nepal Press

प्रदेश २: १५ दिनमा थपिए ४ हजार बढी संक्रमित, अधिकांश घरमै

जनकपुरधाम । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेपछि चिन्ता बढाएको छ । पछिल्लो १५ दिनमै ४ हजार बढी सक्रिय संक्रमित थपिएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिवार दिउँसो ४ बजेसम्म यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार २५७ पुगेको छ । वैशाख १० मा सक्रिय संक्रमितको संख्या मात्र ९२० रहेको थियो । १५ दिनमै ४ हजार ३३७ सक्रिय संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी अर्थात एकचौथाई सक्रिय संक्रमित पर्सामा छन् । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार २ हजार १८१ सक्रिय संक्रमित पर्सामा छन्, जसमध्ये संस्थागत आइसोलेशनमा २९८ जना मात्र बसेका छन् । बाँकी सबै होम आइसोलेशनमा छन् ।

पर्सामा होम आइसोलेशनको संख्या मात्र ५५५ रहेको छ । यदि होम आइसोलेशनबाट सक्रिय संक्रमितलाई संस्थागत आइसोलेशनमा राखियो भने बेड नै पाउने अवस्था छैन । पर्सामा अवस्था गम्भीर भएका संक्रमितहरुले समेत बेड पाउन सकेका छैन । अस्पताल विरामीले भरिएको छ ।

धनुषा पनि वीरगञ्ज जस्तै कोरोनाको हटस्पट बनेको छ । धनुषामा संस्थागत आइसोलेशन ४२ बेडको मात्र छ । जबकि यहाँ सक्रिय संक्रमितको संख्या १ हजार १६२ पुगिसकेको छ । जसमध्ये मात्र २८ जना संस्थागत आइसोलेशनमा छन् ।

यस्तै सप्तरीमा २९८, सिरहामा २२१, महोत्तरीमा ४५०, सर्लाहीमा ४८, रौतहटमा ३२७ र बारामा ५७० सक्रिय संक्रमित पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेका र आइसोलेशन सेन्टर नै भएपछि सरकारी अधिकारीहरु चिन्तत बनेको छ ।

डीसीसीएमसी सर्लाहीले सक्रिय संक्रमित बढ्न थालेकाले तत्कालै आइसोलेशन सेन्टरहरु सञ्चालनमा ल्याउन सबै स्थानीय सरकारलाई निर्देशन दिएको छ ।

होम आइसोलेशनमा बसेका सक्रिय संक्रमितहरु भगवान भरोसामा छन् । उनीहरुले स्वास्थ्यकर्मीबाट समेत सल्लाह सुझाव पाइरहेका छैनन् ।

कतिपय सक्रिय संक्रमितहरु त गाउँघरमा घुमिरहेको समेत पाइएको स्वास्थ्यकर्मीहरु स्वयंम बताउँछन् । यसले भोलिको दिनमा कोरोनाले भयावह रुप लिने सम्भावना बढाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५०१ कोरोना संक्रमित थपिएका छन् । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भएदेखिको सबभन्दा सर्वाधिक हो । पर्सा र धनुषामा ११२-११२, महोत्तरीमा ४०, सिरहामा ७, सप्तरीमा ३३, रौतहटमा ९३, सर्लाहीमा १७ र बारामा ८० संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर