फ्रन्टलाइनरको व्यथा

जो संक्रमितलाई निको पार्दा आफैं संक्रमित भए

कैलाली । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल बाहिर डा. अशोक चौधरी निराश मुद्रामा थिए । कोरोना संक्रमितको उपचारमा रातदिन खटिएका मेडिकल अधिकृतको यो मुद्रामा पक्कै पनि सुखद् सन्देश थिएन ।

‘के भयो डाक्टर सा’ब ?

‘संक्रमित एक महिलाको अवस्था सुधार्न सकिएन,’ चिन्तित मुद्रामा उनले सुनाए ।

२०७५ फागुनदेखि सेती प्रादेशिक अस्पतालमा सेवा सुरु गरेका डा.चौधरी अहिले कोभिड–१९ को संक्रमण भएकाहरूको उपचारमा खटिएका छन् ।

‘कोरोना संक्रमित देखिन थालेपछि कोही न कोही त त्यहाँ जानुपर्‍यो,’ उनले भने, ‘म आफ्नै खुसीले संक्रमितको उपचारमा खटिएको हुँ ।’
लगातार एक वर्ष भन्दा बढी कोरोना संक्रमितहरूको उपचारमा खटिएका चौधरी विगतको भन्दा बढी चिन्तामा छन् ।

‘पहिले त्रास बढी थियो । तर संक्रमण र मृत्युदर कम थियो,’ उनले भने ‘अहिले संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ हामी निकै चिन्तित छौँ ।’
कोरोना संक्रमितलाई निको पार्दा पार्दै उनी आफू संक्रमित भएको पत्तै पाएनन् ।

‘कसरी संक्रमण भयो पत्तै भएन । तर, जसरी संक्रमित भए त्यसरी नै निका भए,’ उनले सुनाए ।

उनको परिवारमा आमाबुवा र भाइ छन् । कोरोना निको भए लगत्तै उनी फेरि संक्रमितको उपचारमा खटिएका छन् ।

‘हामी सीमित स्वास्थ्यकर्मी छौं । संक्रमित असीमित भइरहेका छन्,’ उनले भने, ‘अहिले त कहाँ राखेर उपचार गर्ने भन्ने समस्या पैदा भएको छ ।’

केही महिनायता कोरोना संक्रमितको उपचारमा खटिएका डा. सञ्जीव शाही अहिले आफैं आइसोलेसनमा छन् । कोरोना संक्रमितहरूको उपचार र व्यवस्थापनकै क्रममा आफू संक्रमित भएको उनी बताउँछन् ।

‘एक साताअघि संक्रमित बुवालाई लिएर आएका युवक एक्कासी कोरोना अस्पताल बाहिर बेहोस भए । म नजिकै थिए । उनको उद्धार गर्दा पनि संक्रमित भएँ कि जस्तो लग्छ,’ उनले सुनाए ।

कोरोना संक्रमित व्यक्तिको उपचारमा खटिएका शाही तीनै संक्रमितका परिवारका सदस्यलाई पनि जोखिम मोलेर उद्धारमा खटिएका थिए ।
उनले भने, ‘मैले त्यो बेला पीपीई लगाएको थिइनँ । पीपीई लगाउन थाल्दा उनको अवस्था थप जटिल बन्न सक्थ्यो । त्यही भएरै जोखिम मोलेँ ।’

२० गते उनी संक्रमित भएपछि होम आइसोलेसनमा छन् । तर, चाडै निको भएर फेरि संक्रमितको उपचारमा खटिने उनको धोको छ ।
‘जनशक्ति कम छ । त्यसमाथि संक्रमित बढिरहेका छन् । चाँडै निको भएर उपचारमा खटिन मन छ,’ उनले भने, ‘यो बेला कोरोना अस्पतालमा हाम्रो खाँचो छ ।’

५० शय्याको कोरोना अस्पतालमा बिरामीको संख्या थप हुन थालेपछि ५५ शय्या पुर्‍याइएको थियो । तर, अहिले त्यही शय्या पनि कम भएको छ । कोरोना अस्पतालमा बेड अभाव भएपछि सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र आकस्मिक कक्ष भन्दा बाहिर आँगनमा पनि संक्रमणको लक्षण भएका बिरामीहरूलाई राखेर उपचार भइरहेको छ ।

यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मी रात दिन संक्रमितको उपचारमा खटिएका छन् ।

जो रात दिन खटिन्छन्

कल्पना कुँवर प्रत्येक दिन बिहानै सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल पुग्छिन् । उनी कोभिड अस्पतालको आईसीयू तथा वार्डमा नर्सिङ इन्चार्ज हुन् ।

थोरै जनशक्ति तर, धेरै जिम्मेवारी हुँदा कुनै दिन त २४ घण्टा सम्म काम गरेको याद छ उनलाई ।

‘यस्तो बेलामा एक सेकेन्ड पनि महत्वपूर्ण हुन्छ । हामी थोरै छौँ । धेरै काम गर्नु पर्छ’ उनले भनिन्, ‘मैले त कति दिन २४ घण्टा यहीँ बिताएको छु ।’

आईसीयूमा १३ जना छन् । उनीहरूलाई पनि निकै समस्या छ । जटिल प्रकारका बिरामीहरू हुने भएका कारण संक्रमितको सेवामा उनीहरू रात दिन खटिएका छन् ।

त्यसैमाथि दिन प्रतिदिन संक्रमण र मृत्युदर निकै उच्च रूपमा बढिरहेको छ । यसले त्रास भन्दा बढी जिम्मेवारी थप रहेको कुँवर बताउँछिन् ।

‘यस्तो बेला हामीलाई त्रास भन्दा बढी उहाँहरूलाई कसरी जोगाउने होला भन्ने चिन्ता हुन्छ,’ उनले भनिन्, ‘जीवन र मृत्युको दोसाँधमा रहेकालाई बचाउन हामी हर सम्भव प्रयास गर्छौं ।’

डा.निराजन शर्मा पौडेलकाे दैनिकी पनि त्यस्तै छ । हरेक दिन दिउँसाे ४ बजेपछि अस्पतालको कोरोना विशेष अस्पताल जान्छन् । त्यहाँ रहेका ५५ भन्दा बढी बिरामीको राउण्ड लिन्छन् । त्यसपछि उनी फेरि सेतीको नर्मल आईसीयूमा रहेका बिरामी, मेडिसिन विभागका बिरामीको राउण्ड हुँदै अबेर राति घर पुग्छन् ।

डा. शर्मा पनि पछिल्लो समय बढेको संक्रमणले चिन्तित छन् । अहिले नै अक्सिजनको अभाव सृजना भइसकेको छ यस्तै अवस्था बढ्दै गए निकै समस्या हुने उनको बुझाइ छ ।

‘हामी रात दिन संक्रमितलाइ निको पार्न लागिरहेका छौँ तर, संक्रमिहरूको संख्या झन्–झन् बढिरहेको छ । अवस्था भयावह हुन सक्छ,’ उनले भने ।

उनले अहिले आएको फरक भेरियन्टको कोरोनाले युवाको बढी मृत्यु भइरहेको बताए ।

‘उत्पादनशील युवाहरूको बढी मृत्यु भइरहेको कुरा चिन्ताको विषय हो’, उनले भने, ‘अस्पतालमा उपकरणको पनि अभाव छ ।’ सुदूरपश्चिमका लागि रेफरल सेती प्रादेशिक अस्पतालमा १५ वटा आईसीयू र तीन वटा मात्रै भेन्टिलेटर छन् ।

अस्पतालमा जनशक्तिको पनि अभाव छ । फिजिसियन चिकित्सक, एनेन्थेसियोलोविष्ट, मेडिकल अफिसर र नर्सिङ स्टाफ जस्ता जनशक्ति अभाव हुँदा भएकाहरू रात दिन खटिन बाध्य भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *