मन्त्रिपरिषद् बैठक : युनिफाइड कोभिड अस्पतालको प्रस्ताव, संक्रमित सांसदलाई मतदानस्थलको व्यवस्था गरिने – Nepal Press

मन्त्रिपरिषद् बैठक : युनिफाइड कोभिड अस्पतालको प्रस्ताव, संक्रमित सांसदलाई मतदानस्थलको व्यवस्था गरिने

काठमाडौं । प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको शनिवारको मन्त्रिपरिषद् बैठक कोरोना महामारीमा केन्द्रित भएको छ । धेरैले महत्वपूर्ण राजनीतिक निर्णय हुनसक्ने भनेर गरेको अनुमान विपरित बैठक कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पतालहरुका व्यवस्थापन कसरी गर्ने भन्ने बारेमै केन्द्रित रहेको मन्त्रीहरुले बताएका छन् ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कोरोना महामारी चुनौतिपूर्ण ढंगले बढिरहेको भन्दै अस्पतालहरुको सहज व्यवस्थापनका उपायहरु खोज्नुपर्ने बताएका थिए । बैठकमा एकीकृत कोभिड अस्पताल सन्चालन गर्नेबारे प्रस्ताव आएको र त्यसमा थप छलफलपछि निर्देशिकासहितको व्यवस्थित प्रक्रिया अघि बढ्न सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई बताए ।

बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । त्यसले कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरुको कमान्ड गर्ने गरि ५०० शैयाबाट शुरु गरिने भएको छ ।

बैठकमा सोमवार शुरु हुने प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिने प्रक्रियामा कोभिड संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत छलफल भएको स्रोतले जनाएको छ ।

शनिवार साँझसम्म २६ जना सांसदमा कोभिड संक्रमण देखिएको छ भने ५० जनाको अझै रिपोर्ट आउन बाँकी छ । संक्रमित सांसदलाई संसद भवनभित्रै एक ठाउँमा राखेर मतदानको व्यवस्था गर्नेबारे छलफल भएको स्रोतको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *