भारतसँग जोडिएका सबै सीमा नाका बन्द – Nepal Press

भारतसँग जोडिएका सबै सीमा नाका बन्द

सर्लाही । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ । नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल-भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । सरकारले प्रदेश नं २ महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो । केही दिनदेखि मलङ्गवार नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्णरूपमा बन्द गरिएको छ ।

नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी दुई देशका सुरक्षा अधिकारीबीच सहमति भएको सशस्त्र प्रहरी बल १० नम्बर हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताए । आवतजावत रोक्न जिल्लाको ५१ किलोमिटर भारतीय खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएपछि सीमाबाट हुने आवतजावत नियन्त्रण सम्भव भएको छ ।

दुई देशको सीमा छुट्याउने दशगजामै जोडिएका बस्तीका बासिन्दा प्रहरीको आँखा छली लुकीछिपी नेपाल–भारत आवतजावत गरिरहेका छन् । सीमाका सम्पूर्ण बासिन्दा भारतीय बजारमै निर्भर रहेकाले सीमा क्षेत्रमा आवतजावत पूर्णरूपमा रोक्न सम्भव नभएको बलरा नगरपालिकाका प्रमुख अभय सिंहले बताए । भारतीय सीमावर्ती बजार नेपालीलाई नै लक्ष्य गरेर सञ्चालनमा रहेका नगरप्रमुख सिंहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर