माधव नेपाल पक्षका सांसदको राजीनामा कुर्दै कांग्रेस, अविश्वास प्रस्ताव तयार – Nepal Press

माधव नेपाल पक्षका सांसदको राजीनामा कुर्दै कांग्रेस, अविश्वास प्रस्ताव तयार

काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र पार्टी एकताको अन्तिम प्रयास भइरहेका बेला विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भने माधव नेपाल पक्षका सांसदहरुको राजीनामाको प्रतिक्षामा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सहमति भइसकेको भएपनि त्यसअघि माधव पक्षका सांसदहरुको राजीनामा आउनुपर्ने देउवाको शर्त छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले यसअघि नै औपचारिक रुपमा अविश्वासको प्रस्ताव आए समर्थन गर्ने निर्णय गरिसकेको छ । एमाले संसदीय दल विभाजित नभएमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन नसक्ने देउवाको आँकलन छ ।

आज बस्ने कांग्रेस संसदीय दलको बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गर्ने सम्भावना छ । त्यसअघि नै माधव पक्षका सांसदहरुको राजीनामा आउने सहमति बनेको कांग्रेस नेताहरुको दावी छ ।

‘कांग्रेस अविश्वास प्रस्ताव ल्याउन तयारी अवस्थामा छ । माधव पक्षका सांसदहरुले शनिबार नै राजीनामा दिने सहमति कार्यान्वयन हुनासाथ अविश्वास प्रस्ताव आउँछ’, एक कांग्रेस नेताले नेपाल प्रेससंग भने ।

ती नेताका अनुसार कांग्रेस संसदीय दलको बैठकअघि नै एमाले सांसदहरुले सामुहिक राजीनामा दिने सहमति बनेको थियो । यद्यपि एमालेभित्र विभाजन रोक्ने र सहमति जुटाउने अन्तिम प्रयास चलिरहेको छ ।

‘माधव पक्षले राजीनामा दिएन भने अविश्वासको प्रस्ताव आउने सम्भावना कम छ । आज संसदीय दलले निर्णय गर्नैपर्ने हो’, कांग्रेस नेताको भनाई छ ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्नैपर्ने दवावमा विपक्षी दलहरु रहेका छन् । माधव पक्षका केही नेताहरुले भने अविश्वास प्रस्ताव दर्ता भएपछि पनि राजीनामा दिन सकिने बताउँदै आएका छन् ।

एमाले एकता कायम गर्न दुवै पक्षका दोस्रो तहका नेता आज पनि छलफलमा छन् ।


प्रतिक्रिया

One thought on “माधव नेपाल पक्षका सांसदको राजीनामा कुर्दै कांग्रेस, अविश्वास प्रस्ताव तयार

  1. कर्णालीमा प्रत्यक्ष आत्मघाती गोल गरेर माओवादी केन्द्रलाई सत्तामा कायम गरेका माझहरूले काठमाडौंमा शेरबहादुर देउवालाई प्रम बनाउन अप्रत्यक्ष आत्मघाती गोल गरेर सांसद पद जोगाउने अनि ओलीलाई सत्ताबाट पनि हटाउने रणनीतिबमोजिम जसपालाई विश्वासको मतको विपक्षमा मत दिन जोडबल गर्दैछन्। होसियार हुने कि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर