कोरोना नियन्त्रणका लागि कतैबाट अनुदान पाएका छैनौं : नगरप्रमुख सुवेदी (अन्तर्वार्ता) – Nepal Press

कोरोना नियन्त्रणका लागि कतैबाट अनुदान पाएका छैनौं : नगरप्रमुख सुवेदी (अन्तर्वार्ता)

सुर्खेत । कर्णाली प्रदेशको एक मात्र सुगम नगरपालिका हो वीरेन्द्रनगर । प्रदेश राजधानीसमेत भएको वीरेन्द्रनगरमा पछिल्लो समयमा निरन्तर जनघनत्व बढदै गइरहेको छ । कर्णाली प्रदेशका ६ जिल्ला प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको वीरेन्द्रनगर कारोनाको नयाँ भेरियन्टको चपेटामा छ । नयाँ भेरियन्ट देखिएसँगै वीरेन्द्रनगरका पाँच जनाले ज्यान गुमाइसकेका छन् । अझ यो संख्या बढने त्रास नगरवासीमा छ ।
नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि कस्ता योजना बनाएको छ ? यही सन्दर्भमा नेपालप्रेसले नगरप्रमुख देवकुमार सुवेदीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

वीरेन्द्रनगरको कोरोना संक्रमण न्यूनीकरण गर्न नगरपालिको तयारी के छ ?
हामीले एक करोडको कोरोना कोष स्थापना गरेका छौं । त्यही कोषबाट नगरपालिकाको कटकुवा स्वास्थ्य पोस्टमा २५ बेडको आइसोलेसन सञ्चालन गर्दैछौं । यसलाई बढाएर ५० वेडसम्म पुर्‍याउने तयारी थालेका छौं ।

कोभिडका बिरामीका लागि एम्बुलेन्स सञ्चालनमा आएको छ । यो एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गर्नेछ । प्रत्येक वडामा पीसीआर जाँचमा तीव्रता दिएका छौं । एन्टिजेन जाँच पनि प्राथमिकतामा छ । यसका अलावा हामीले कोभिड भएका नगरबासीलाई परामर्श दिन नगर स्वास्थ्य शाखामार्फत् टेलिफोनबाट परामर्श सेवा दिन नम्बरहरू सार्वजनिक गरेका छौं ।

वीरेन्द्रनगरका सबै स्वास्थ्य संस्थाका प्रमुख र वडा समितिको संयुक्त पहलमा कोभिडका बिरामी र बाहिरबाट आएका मान्छेलाई आइसोलेसनमा बस्ने र आवश्यक स्वास्थ्य परामर्श दिन संयन्त्र निर्माण गरेका छौं । नगर विपद् समिति, कोरोना व्यवस्थापन समिति लगायतका समितिहरूसँग राय परामर्श सहित सञ्चार माध्यममार्फत् सार्वजनिक सूचना जारी गर्ने गरिएको छ ।

नेपाल प्रहरी, जिल्ला प्रशासनसँग मिलेर सार्वजनिक सूचनाको कामलाई अगाडि बढाएका छौं ।

नगरपालिकाभित्रका नागरिकले अक्सिजन नपाएर मर्नुपर्ने अवस्था आएको छ । यो चुनौतीलाई कसरी सामना गर्नुहुन्छ ?
हामीले अक्सिजन सिलिण्डर र अक्सिजन प्लान्ट अगाडि बढाउन प्रदेश सरकारसँग सहकार्य गरेर हिजोबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको ल्याएका छौं । हामीले केही सिलिण्डर पाएका थियौं ती सबै प्रदेश अस्पतालमा बुझाएका छौं ।

अन्य सिलिण्डर खरिद गर्ने योजना पनि बनाएका छौं । अन्य दातृ निकायसँग पनि सिलिण्डर सहयोग गर्न आग्रह गरिरहेका छौं । खासगरी अक्सिजन प्लान्ट बनाउने भन्दा पनि अस्पताललाई व्यवस्थित बनाउन प्रदेश सरकार, प्रदेश अस्पताल र जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर अघि बढेका छौं ।

नगरपालिकामा निषेधाज्ञा फितलो हुँदा कोरोना संक्रमण थप फैलिएको भन्ने गुनासो छ । यसलाई कडाइ गर्न किन नसकिएको ?
लकडाउनको अनुगमन गर्ने काम सिडिओ लगायत सुरक्षा निकायको हो । हामीले हाम्रो तर्फबाट नगरवासीमा कोरोनाको चेनव्रेक गर्नका लागि घरबाहिर ननिस्किनका लागि अनुरोध गरेका छौं ।

स्वास्थ्यसँग जोडिएका कार्यक्रम बाहेक अन्य कार्यक्रममा नजान आम जनसमुदायलाई अनुरोध गरेका छौं र यसलाई पूर्ण कार्यान्वयन गर्न अपिल गरेका छौं । प्रहरी लगाएर घरमा जनता थुन्न भन्दा पनि आफंै सजग र सचेत होऔं भनेर सूचना जारी गरेका छौं ।

कार्यान्वयन गर्ने काम नगरपालिकाको मात्रै होइन । आम सर्वसाधारण नागरिकले यसमा सहयोग गर्न आवश्यक छ । विवाह, व्रतबन्धमा सकेसम्म नगर्न, गरेपनि कम व्यक्तिको उपस्थिति भई गर्नका लागि अनुरोध गरेका छौं ।

वीरेन्द्रनगरमा नगरवासी मात्रै होइन, १० जिल्लाका नागरिक बस्दै आइरहेका छन् । नगरपालिकाको सानो बजेटले कोरोना नियन्त्रण गर्न सम्भव होला त ? प्रदेश सरकारबाट कस्ता किसिमका सहयोग पाउनुभएको छ ?
कोरोनाको नयाँ भेरियन्ट आएसँगै यो वर्ष अहिलेसम्म कतैबाट अनुदान पाएका छैनौं । आफूसँग भएको स्रोत साधनलाई सकेसम्म प्रयोग गर्दै आइरहेका छौं । आइसोलेसन सेन्टरलाई थप व्यवस्थित पार्दै लैजाने योजनाअनुसार अघि बढेका छौं ।

प्रदेश राजधानीसमेत भएका कारण थप बजेटका लागि प्रदेश र संघीय सरकारसँग बजेट माग गरिरहेका छौं । प्रदेश सरकारसँग त पिसिएमसीको बैठकमा म आफैंले बजेट माग गरेको छु, अहिलेसम्म प्राप्त भएको छैन । तैपनि हामी सबैको जोड के हो भने प्रदेश अस्पताललाई व्यवस्थित गरेर त्यहाँ आम जनतालाई अक्सिजन छ भन्ने वातावरण बनाउन मेरो तर्फबाट, नगरपालिकाको तर्फबाट प्रदेश सरकार, संघीय सरकार लगायत विभिन्न निकायलाई सहयोगका लागि अनुरोध गरिरहेका छौं ।

कोरोनाको उपचार गर्न स्वास्थ्यकर्मीको अवाश्यकता पर्छ । जनशक्तिको अवस्था के छ ?
हामीले सञ्चालनमा ल्याएको कटकुवा अस्पतालका लागि विशेषज्ञ सेवा हो । त्यसका लागि दुई जना डाक्टरका लागि सूचना प्रकाशित भइसकेको छ । अन्य जनशक्ति हामीसँग पर्याप्त छ ।

शुभलक्ष्मी अस्पताल अहिले बन्द छ । त्यहाँ १२ वटा आइसीयू खाली छ, त्यसलाई सञ्चालन गर्न नगरपालिकाले किन पहल नगरेको ? पालिकाको तर्फबाट भाडामा लिएर धान्न सकिन्छ कि सकिँदैन भन्ने हो । त्यसका लागि थप बजेटको आवश्यकता पर्छ । त्यो भन्दा पनि हाम्रो पूर्ण ध्यान भनेको प्रदेश अस्पताललाई व्यवस्थित गर्नुपर्छ भन्ने हो ।

हामीसँग भएको स्रोत साधनले निजी असपताललाई भाडामा लिएर चलाउन सक्ने अवस्था छैन । पैसा भएका नागरिकका हकमा होटललाई आइसोलेसनको रुपमा निर्माण गर्न भनेका छौं । केही होटलले सुरु गरिसकेका छन् ।

नगरपालिका भित्रिने नाकाहरूमा कडाइ नगरेको गुनासो आएको छ नि !
हेर्नुस, दैनिक रुपमा १५ सय देखि २५ सय नागरिक वीरेन्द्रनगर भित्रिरहेका छन् । यस्तो अवस्थामा नाकामा जाँच गर्न सक्ने अवस्था छैन । बरु हामीले वडा तहमा, नगरपालिकामा जाँचको व्यवस्था मिलाएका छौं । त्यसबाट यहाँका नागरिकले लाभ लिइरहनु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर