वाह ! भेडेटार सम्झाउने ‘सुन्तले डाँडा’ – Nepal Press
वाह ! भेडेटार सम्झाउने ‘सुन्तले डाँडा’
फोटो फिचर
श्यामकृष्ण दाहाल २०७८ वैशाख २५ गते ८:५७
२०७८ वैशाख २५ गते ८:५७

उत्तर फर्किएर हेर्दा लहरै बसेका हिमालका ताँती, दक्षिण फर्किए तराईको नीलो नदी देखिने धरान-धनकुटाबीचको भेडेटारको सौन्दर्यबारे नपुगे पनि जानकार नहुने कमै छन् ।

त्यही भेडेटारको झल्को दिन्छ भोजपुरको ‘सुन्तले’ ले । हिमाललगायत वरपरका डाँडाको दृश्यले त्यहाँ पुग्ने जो कोही मन्त्रमुग्ध हुन्छन् नै ।

यहाँबाट मकालु, कन्चनजंघा हिमालको मनमोहक सौन्दर्य तथा अन्य थुप्रै हिमशृखंला प्रष्टै देख्न सकिन्छ । उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यावलोकनको आनन्द त उत्तिकै । हरियाली जंगल, फराकिलो नागी, सिजनमा फुल्ने गुराँससँगै खोटाङको सीमावर्ती टेम्के चुचुरोदेखि अरुण उपत्यकाको तुम्लिङ फाँटसम्मका प्राकृतिक दृश्यको वर्णन गरी साध्य छैन । हिउँ खेल्न र रमिता हेर्न पनि यहाँ मानिसको भीड लाग्छ ।

मोटर बाटो पुगेसँगै पहाडमा सम्भावनाका ढोकाहरू खुल्दैछन् । भोजपुर नगरपालिका क्षेत्रमै अवस्थित सुन्तलेमा आन्तरिक र वाह्य पर्यटकको चाप दिनदिनै बढ्न थालेको छ ।

समुद्री सतहदेखि २२ सय मिटर उचाइमा पर्ने यो ठाउँ थकान र आलस्यलाई बिर्साउने थलो बनेको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष ध्रुव श्रेष्ठ बताउँछन् । पर्यटकीय गन्तव्यको सूचीमा रहेको तेन्जिङ-हिलारी हिँडेको ‘मुन्दुम ट्रेल पदमार्ग’ यही ठाउँ भएर जान सकिन्छ ।

यहाँ पुग्न भोजपुर बजारबाट पैदल दुई घण्टा लाग्छ। सवारी साधनबाट आधा घण्टामै पुगिन्छ । सदरमुकामबाट नजिकै भएकाले पनि छुट्टी मनाउने र साथीभाइबीच रमाइलो गर्न जानेको संख्या दिनदिनै बढ्दो छ ।

वर्षैभरि चिसो हुने यहाँ लोकल कुखुराको तिते (किराती समुदायको विशेष परिकार) तोङ्बा, उसिनेको आलु, राँगाको सुकुटी, रायोको साग लगायतका खानेकुराका परिकारहरु विशेषताको रूपमा छन् ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले सुन्तले क्षेत्रको विकासका लागि बृहत् योजना ल्याउन लागिएको बताउँछन् । नगर क्षेत्रको पर्यटकीयस्थल पहिचान गरी तिनको प्रवर्द्धन र विकासलाई आफूले प्राथमिकतामा राखेको आलेको भनाइ छ ।