विपद्का घटनामा एकै वर्ष ५ सय ९२ जनाको मृत्यु, १ सय १ जनाकाे सास न लास – Nepal Press

विपद्का घटनामा एकै वर्ष ५ सय ९२ जनाको मृत्यु, १ सय १ जनाकाे सास न लास

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार गत साल विपत्तमा परेर ५ सय ९२ जनाको ज्यान गयो ।

२०७७ मा मुलुकभर ९ प्रकारका विपद्का घटनामा परेर मृत्यु भएको छ । १ सय १ जना अझै हराई रहेकै छन । आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो, अविरल बर्षा, हावाहुरी र हिमपातमा परेर उनीहरूको मृत्यु भएको जनाइएको छ ।

जसमध्ये सबैभन्दा धेरै पहिरोका घटनामा परेर ३ सय १ जनाको मृत्यु भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार दोस्रोमा सबैभन्दा धेरै आगलागीका घटनामा परेर ९७ जनाको मृत्यु भएको छ ।

यस्तै चट्यांङका घटनामा परेर ७०, बाढीबाट ४२, जनावर आक्रमणबाट ३७, अविरल वर्षाबाट १५, हावाहुरीबाट ८ जना र सबैभन्दा कम हिमपातबाट १ जनाको मृत्यु भएको कार्यकारी प्रमुख पोखरेलले बताए ।

१ सय १ जना जना अझै वेपत्ता
९ प्रकारका विपद्मध्ये पहिरोमा परेर ६४ र बाढीमा परेर ३७ जना गरेर जम्मा १ सय १ जना वेपत्ता पनि भएका छन् । यसै अवधिमा सर्पदंश र हिमपात बाहेक बाँकी ७ प्रकारका विपद्बाट ३ हजार ४ सय १ पशु चौपायको पनि मृत्यु भएको छ ।

११ सय ६७ जना घाइते, सबैभन्दा बढी घाइते आगलागीबाट
यसै अवधिमा यि सबै घटनामा परेर १ हजार १ सय ६७ जना घाइते भएका छन् । पहिरोबाट सबैभन्दा धेरैको मृत्यु भएपनि घाइते भने सबैभन्दा बढी आगलागीका घटनाबाट ३ सय ७९ जना भएका छन् ।

दोस्रोमा चट्यांङका घटनामा परेर २ सय ४४, पहिरोबाट २ सय २६, जनावर आक्रमणबाट १ सय ९२ जना घाइते भएका छन् ।

यस्तै अविरल बर्षाबाट ५६, सर्पको टोकाइबाट ३९, हावाहुरीबाट १७ र सबैभन्दा कम बाढीबाट ११ जना घाइते भएका छन् ।

२ अर्ब भन्दा बढीको क्षती
यस अवधिमा २ अर्ब १ करोड, ९३ लाख ५८ हजार ६६ रुपैयाँ बराबरको क्षती भएको छ । जसमा सबैभन्दा बढी आगलागीबाट १ अर्ब ८२ करोड १४ लाख ३३ हजार १ सय ८६ बरावरको क्षती भएको छ भने दोस्रोमा अविरल बर्षाका कारण ६ करोड ९९ लाख ४० हजार २ सय रुपैयाँ बरावरको क्षति भएको छ ।

यस्तै पहिरोबाट ५ करोड ९ लाख ६४ हजार ९ सय, बाढीबाट ४ करोड ८८ लाख ११ हजार, हावाहुरीबाट १ करोड ३३ लाख ५६ हजार ५ सय र सबैभन्दा कम चट्याङबाट ७२ लाख ५५ हजार ४ सय ३० रुपैयाँ बरावरको क्षती भएको छ ।

९ प्रकारका ४ हजार भन्दा बढी विपद्का घटना
एक वर्षको अवधिमा मुलुकभरमा ९ प्रकारका ४ हजार १ सय ५७ वटा घटना भएका छन् । जसमा सबैभन्दा धेरै आगलागीका घटना २ हजार ५ सय ८५ भएका छन् भने दोस्रोमा सबैभन्दा बढी पहिरोका घटना ४ सय ८९ भएका छन् ।

यस्तै अविरल वर्षाका घटना ३ सय ६०, चट्याङका घटना २ सय ४७, जनावर आक्रमणका घटना २ सय ४३, बाढीका ९७, हावाहुरीका ७९, सर्पदंशका ५६ र सबैभन्दा कम हिमपातको एउटा घटना भएको छ ।

२३ दिनमा मात्र ३ सय ८९ घटना २८ जनाको मृत्यु, ९६ घाइते
प्राधिकरणका अनुसार यस वर्षको पनि बितेको २३ दिनको अवधिमा पनि ८ प्रकारका विपद्का घटनामा परेर २८ जनाको मृत्यु भइसकेको छ ।

जसमा सबैभन्दा बढी १८ जनाको चट्याङ लागेर मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता समेत रहेका उपसचिव लिलानाथ अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार दोस्रोमा आगलागीका घटनामा परेर ७ र जनावर आक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

यसै अवधिमा ५ प्रकारका विपदमा परेर ९६ जना घाइते भएका छन् । जसमा सबैभन्दा धेरै चट्यांङ लागेर नै ६६ जना घाइते भएका छन् भने आगलागीका घटनामा परेर २२ जना घाइते भएका छन् । यस्तै जनावर आक्रमणबाट ५, हावाहुरीमा परेर २ र पहिरोमा परेर १ जना घाइते भएका छन् । यसै अवधिमा ४ प्रकारका विपद्का घटनाबाट २ सय २७ पशु चौपायाको मृत्यु भएको छ ।

२३ दिनकै अवधिमा विपद्का घटनाबाट २८ करोड ४६ लाख ४४ हजार ६ सय ९० रुपैयाँ बराबरको क्षती भएको छ ।

जसमा सबैभन्दा धेरै आगलागीबाट २६ करोड ४६ लाख ८३ हजार ८ सय ६० भएको छ भने दोस्रोमा चट्यांङका घटनाबाट १ करोड ४३ लाख ९४ हजार ८ सय ३० रुपैयाँ बराबरको क्षती भएको छ ।

यस्तै हावाहुरीबाट ५१ लाख ४६ हजार, बाढीबाट २ लाख ५० हजार र जनावर आक्रमणबाट १ लाख ७० हजार बरावरको क्षती पुगेको छ ।

जसमा ८ प्रकारका ३ सय ८९ घटना भएका छन् । जसमा सबैभन्दा बढी २ सय ७० आगलागीका घटना भएका छन् भने दोस्रोमा चट्याङका ८० घटना भएका छन् । यस्तै हावाहुरीका २२, जनावर आक्रमणका १२, पहिरोका ४ र बाढीको एउटा घटना भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *