बालुवाटारमा एमालेका ६ भाइको दुई घण्टा : मध्यविन्दु पहिल्याउने सूत्र – Nepal Press

बालुवाटारमा एमालेका ६ भाइको दुई घण्टा : मध्यविन्दु पहिल्याउने सूत्र

काठमाडौं । नेकपा (एमाले)का दोस्रो तहका नेताहरुबीचको छलफलमा सहमतिको सूत्र पहिल्याने प्रयास भएको छ । पार्टीको एकता जोगाउने अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो तहका नेताहरुबीच चलेको छलफल टुंगोमा नपुगे पनि मध्य विन्दु पहिल्याउने सहमति बनेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच सहमतिको लागि बुँदागत रुपमा छलफल भएको थियो।

छलफलमा नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागि थिए भने अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरु थिए।

छलफलमा दुवै पक्षले आ-आफ्ना अडान भने दोहोर्याएका छन् । छलफलमा नेपाल पक्षले पार्टीलाई जेठ २, २०७५ लाई कुनै न कुनै रुपमा सम्बोधन गनुपर्ने अडान राखेको थियो । पहिले आफूहरुले एजेन्डा बनाएको जेठ २ लाई सम्बोधन गरिसकेपछि २७ माघमा थपिएका माओवादी पक्षका केन्द्रीय सदस्यहरुलाई पनि मान्न सकिने भन्नेमा नेपाल पक्ष लचक भएको छ । केन्द्रका पहिलेका पदाधिकारी यथावत राख्नुपने र आफू पक्षीय जिल्ला अध्यक्षहरुलाई पनि यथावत जिम्मेवारीमा राख्नुपर्ने अडान नेपाल पक्षको छ ।

ओली पक्ष भने २८ बाट अगाडि बढ्नुपर्ने । महाधिवेशन आयोजक कमिटीमा पहिलेको संरचनालाई परिवर्तन गरिसकेकाले पुनः पदाधिकारी बनाउने भन्दा पनि अन्य जिम्मेवारीमा नेपाल पक्षलाई समेट्न तयार भएको ओली पक्षको भनाइ थियो । त्यस्तै जिल्ला अध्यक्षहरुको हकमा नेपाल पक्षका जिल्ला अध्यहरुलाई एक तह वृद्धि गरेर जिल्ला इन्चार्ज बनाउने, अहिले अध्यक्ष भइसकेकालाई कायम नै राख्ने र दुवै पक्षले बनाएका समानान्तर जिल्ला कमिटीलाई ‘मर्ज’ गरेर जान सकिने विकल्प ओली पक्षले अघि सारेको छ।

वार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई एकताबद्ध बनाउन गम्भीर छलफल भएको र मिलनबिन्दू पहिल्याउन प्रयास जारी रहने बताए ।

कम्तिमा माथिल्लो तहमा एउटा मध्यविन्दू पहिल्याएपछि अन्य कमिटीहरुको व्यवस्थापन र विवाद समाधानका लागि उच्चस्तरीय कार्यदल बनाउन सकिनेबारे आजको छलफलमा लगभग दोस्रो तहका नेताहरु सहमत भएका छन् ।

पुस ५ मा नेकपा विभाजनपछि केपी ओली पक्षले देशभर आफ्ना कमिटीहरु बनाइसकेको थियो । प्रचण्ड-माधव पक्षले पनि बनाएका थिए । ओलीले आफूलाई संकटमा साथ दिएका ती कार्यकर्तालाई हटाउन नसकिने बताइरहेका बेला त्यसको लागि कार्यदल बन्न लागेको हो ।

आजको छलफलबारे दुवै पक्षका शीर्ष नेतालाई ‘ब्रिफिङ’गरेपछि शनिबार पुनः दुवै पक्षका यिनै नेताहरुबीच छलफल हुने बताइएको छ । छलफलमा सुरेन्द्र पाण्डे पनि सहभागी हुने भनिएकोमा विरामी परेर अन्तिममा उनी अनुपस्थित रहेको स्रोतले जनाएको छ ।

भुसाल, भट्टराई र विष्ट नेपाल समूह भित्र पार्टीलाई मिलाएर लैजानु पर्ने पक्षमा छन् । बीचको मिलनबिन्दू खोजेर भए पनि मिल्नुपर्ने मत उनीहरुको छ । तर, नेता नेपाल र भीम रावल ओलीसँग मिल्ने कुरामा अनुदार छन्।

बालुवाटारको वार्तापछि भुसाल, भट्टराई र विष्ट पुनः ‘याक एन्ड एती’ होटेलमा छुट्टै छलफलमा बसेका थिए ।

एमाले जीवनका लागि वैशाख २७ गते महत्वपूर्ण दिन मानिएको छ। उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् ।

एमाले एक रहने वा नरहने भन्ने त्यही दिन तय हुने एमालेकै नेताहरुले बताउने गरेका छन् । त्यसअघि नै पार्टी एकता जोगाउने अन्तिम प्रयास स्वरुप एमालेका दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् ।

एमालेको एकता जोगाउन केन्द्रमा अन्तिम पहल भइरहेका बेला जिल्ला संयोजकहरुले पनि पार्टी जोगाउन अपील गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्।

शुक्रबार पार्टी एकता जोगाउन आग्रह गर्दै एमाले लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरुले छुट्टाछुट्टै अपील जारी गरे।

पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोधहरु देखा परिरहेको र यसले पार्टीलाई क्षति पुर्याइ रहेको भन्दै उनीहरुले एकतावद्ध एमालेका लागि आग्रह नेताहरुसँग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर