अक्सिजन सिलिण्डर स्वतः स्फुर्त रुपमा उपलब्ध गराउन गृह मन्त्रालयको आग्रह – Nepal Press

अक्सिजन सिलिण्डर स्वतः स्फुर्त रुपमा उपलब्ध गराउन गृह मन्त्रालयको आग्रह

शुक्रबार एकै दिन १८ सय १६ थान अक्सिजन सिलिण्डर संकलन

काठमाडौं । गृह मन्त्रालयले अस्पताल बाहेक अन्य प्रयोजनामा विभिन्न उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त रुपमा नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराउन आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोभिड उपचार जस्तो मानवीय कार्यमा योगदान गरी सरकारको कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्धतिलाई प्रभावकारी तुल्याउने अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको हो ।
अहिलेको विषम परिस्थितिमा अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरिरहेको भन्दै कोभिडको उपचारका लागि यसको अभाव हुन नदिन र आपूर्तिलाई सहज बनाउन मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले विज्ञप्तीमार्फत आग्रह गरेका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्न्वयमा अक्सिजन अभव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

यस क्रममा प्रहरी प्रशासनको सक्रियता र उद्योग, आयोजनाको स्वतः स्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा भइरहेका जनाइएको छ । मन्त्रालयका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार शुक्रबार मात्र १ हजार ८ सय १६ थान अक्सिजन सिलिण्डर संकलन भएको छ ।

मन्त्रालयका अनुसार जम्मा भएका अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा वितरण गरिएको छ । अक्सिजन यसरी स्वतः स्फुर्त रुपमा उपलब्ध गराउने सबै उद्योग, व्यवसाय तथा व्यक्तिलाई गृह मन्त्रालयले विज्ञप्तीमार्फत धन्यवाद पनि ज्ञापन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर