राष्ट्रियसभा उपनिर्वाचनका तीन उम्मेदवार, आफूले नै जित्ने बादल र देवकोटाको दावी (भिडियो) – Nepal Press

राष्ट्रियसभा उपनिर्वाचनका तीन उम्मेदवार, आफूले नै जित्ने बादल र देवकोटाको दावी (भिडियो)

काठमाडौं । राष्ट्रियसभाको वागमती प्रदेशका लागि हुन गइरहेको उपनिर्वाचनमा तीन जनाको उम्मदेवारी परेको छ। शुक्रबार मनोनयन दर्ता गर्ने समयभित्र सत्तारुढ दल नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले उम्मेदवारी थिए ।

हेलिकप्टर चढेर उम्मेदवारी दिन गएका बादलका प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल थिए । सर्मथक भने वागती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छन्।

त्यस्तै नेपाली विपक्षी दलको साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । देवकोटाको उम्मेदवारीको प्रस्तावकमा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस वागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन्।

उनलाई एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टीका उपेन्द्र-बाबुराम भट्टराई समूहको सर्मथन छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट काभ्रेका कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएपछि बादल र देवकोटा दुवैले आफ्नो-आफ्नो जित निश्चित भएको दावी गरेका छन् । मनोनयन दर्ता गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै बादलले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। एमालेका सबैको मत आफूले पाउने उनको भनाइ थियो ।

‘पार्टीले मलाई उम्मेदवार बनायो,’ उनको भनाइ थियो, ‘ यो प्रदेशको ९ हजार ५ सय ६४ मतदाता मध्ये पार्टीको ५ हजार १ सय ३० मत छ। यो मतले नै मेरो जित सुनिश्चित छ।’

 

यस्तै, देवकोटाले पनि साझा गठनबन्धनबाट उम्मेदवार रहेकाले आफूले जित्ने दावी गरे । ‘अहिले मुलुकको संविधान र व्यवस्थापन कमजोर बनाइएको छ। ‘संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई हात खुट्टा बाँधेर काम गर्न दिएको छैन,’ संघीयताबारे जानकार समेत मानिने उनले भने, ‘प्राप्त उपलब्धि भताभुंग गरिएको छ। जनआन्दोलन, माओवादी आन्दोलन, जनजाति आन्दोलनबाट हामीले पाएको संविधान र व्यवस्थाको हत्या गर्ने काम प्रधानमन्त्रीबाटै भएकाले यसको रक्षाको लागि मेरो उम्मेदवारी हो।’

गठनबन्धन उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका डा. देवकोटा स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने भएकाले उनले दलको चुनाव चिह्न भने पाउने छैनन् । उनले कलम चुनाव चिन्ह रोजेका छन् । राष्ट्रियसभा सदस्यमा प्रदेशसभाका सदस्य, प्रदेशका १३ जिल्लाका पालिकाका प्रमुख तथा उप प्रमुखले मतदान गर्नेछन् ।

बागमती प्रदेशसभामा सदस्य ११० जना सदस्य छन्। यस्तै प्रदेशका विभिन्न १३ जिल्लाका १ सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३८, प्रदेशसभा सदस्य ११० गरी ३ सय ४८ जना मतदाता छन् । मतभार गणना गर्दा प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत मानिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर