गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह, प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो-भिडियो) – Nepal Press

गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह, प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो-भिडियो)

ललितपुर । गोदावरीमा निर्माणाधिन नेपालकै सबैभन्दा ठूलो सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

करिब ३ हजार क्षमताको सभाहल निर्माणको काम ९९ प्रतिशत काम सम्पन्न भएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय बबरमहलले जनाएको छ ।

बैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सभाहलको शुक्रबार शहरी विकास मन्त्री प्रभु शाहले निरीक्षण गरेका छन ।

भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाईएको छ । आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले यही बैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको शहरी विकास मन्त्रालयका सचिव ई. रमेश प्रसाद सिंहले जानकारी दिए ।

उदाउँदो सूर्यको आकृतिमा बनाईएकाले सभाहललाई गोदावरी सनसाईज नाम दिईएको सचिव ई. सिंहले बताए  ।

गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाईएको सो सभाहलको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ ।

३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैचा तथा हरियाली र १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याईएको छ । ध्वनी अवशोषित, भुकम्प प्रतिरोधी सो सभाहलमा कम्तिमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्ने छन् ।

केसी समानान्तर जेभी काठमाण्डौले निर्माण ठेक्का लिएको सभाहलको लागत ८१ करोड, ६ लाख ४ सय ३ रुपैया रहेको छ । सभाहल अन्तराष्ट्रिय विमानस्थलबाट १५ दशमलब ८ किलोमिटर र चक्रपथबाट ९ दशमलब ५ किलोमिटर दुरीमा रहेको छ ।

मन्त्री शाह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारी सहित सभाहलको निरीक्षणमा जानुभएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *