प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेमा जसपाभित्र महतो पनि थपिए – Nepal Press

प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेमा जसपाभित्र महतो पनि थपिए

काठमाडौं । संसदको अंकगणितमा निर्णायक देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा बहुमत सांसदहरू उभिने निश्चित भएको छ ।

अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिन राजी भएका छन् ।

पार्टीले राखेका माग पूरा गरेमा सरकारलाई समर्थन दिने पक्षमा उभिँदै आएका महतोले सरकारले सबै माग पूरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने कित्तामा आफूलाई उभ्याएका हुन् ।

‘पार्टीका माग सबै पूरा भएको भए समर्थन दिनसक्ने कुरा थियो । यथास्थितिमा सरकारलाई विश्वासको मत दिन उपयुक्त नहुनेमा हामी पुगेका छौं’, महतोनिकट एक नेताले नेपाल प्रेससँग भने ।

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरू पहिलेदेखि नै सरकारको विपक्षमा छन् । यादव-भट्टराई पक्षले कार्यकारिणी बैठक आयोजना गरी बहुमतबाट सरकारविरुद्ध अविश्वास प्रस्ताव आए समर्थन गर्ने निर्णय लिइसकेको थियो । महतो पनि सोही पक्षमा उभिने भएपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने देखिएको छ ।

पार्टी एकताका बेला आफूलाई संसदीय दलको नेता बनाउने सहमति पालनामा गम्भीर नभएको भन्दै महतोले ठाकुरको साथ छोडेको बताइएको छ । ‘पार्टी एकतादेखिका धेरै विषय छन् । ती सबै आन्तरिक कुरा हुन् तर अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुन्न भन्नेमा पार्टीमा बलियो मत बनेको छ’, महतोनिकट नेताले भने ।

निलम्बित भएका २ जना बाहेक जसपासँग ३२ सांसद रहेका छन् । जसपाले संस्थागत रुपमा मत नदिएमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुर्‍याउन कठिन हुने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर