चोरी आरोपमा सप्तरीका एक किशोर ३ दिनदेखि बन्धनमा, गाउँपालिका प्रमुखकै छोराको संलग्नता ! – Nepal Press

चोरी आरोपमा सप्तरीका एक किशोर ३ दिनदेखि बन्धनमा, गाउँपालिका प्रमुखकै छोराको संलग्नता !

जनकपुरधाम । सप्तरीमा चोरीको आरोपमा एक किशोरलाई हात-खुट्टामा फलामे साङ्लाले बाँधेर तीन दिनदेखि यातना दिइरहेको घटना सार्वजनिक भएको छ ।

छिन्नमस्ता गाउँपालिका-६ कुपही टोलका १८ वर्षीय शिवकुमार मुखियालाई चोरी आरोपमा मदिरा पसल चलाएर बसेका संजय पण्डित र उनका दाइ जागेश्वरले बाँधेर यातना दिइरहेका छन् ।

स्थानीयका अनुसार पण्डितको मदिरा पसलमा वैशाख २१ गते राति चोरी भयो । चोरी गरेको शंकामा मुखियालाई घरबाटै समातेर ल्याइयो र यातना दिए । यातना खेप्न नसकेर मुखियाले चोरी स्वीकारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

२२ गते बिहानदेखि नै मुखियाको हातखुट्टामा साङ्लो बाँधेर ताला लगाइएको छ । स्थानीय कपिल मुखिया भन्छन्, ‘खाना पानी केही नदिई भोकै र प्यासै उनलाई बन्दी बनाएका छन् ।’भोकले छटपटाएको देखेपछि आफूले राति घर ल्याएकोमा पुन: फर्काएर लगी यातना दिइरहेको उनले बताए ।

ती युवालाई यातनाका लागि व्यापारी पण्डितलाई गाउँपालिका प्रमुख सूर्यनारायण मण्डलका छोरा सत्यनारायणले साथ दिएको स्थानीयको दावी छ । ‘यातना दिन लगाउनमा सत्यनारायणको भूमिका निकै छ । उनी स्वयंले कुटपिट गरेका छन् । उनको अगाडि कसैले प्रतिवाद गर्न सक्दैनन्’, स्थानीय एक युवकले भने ।

मुखियाले चोरी स्वीकारेको दावी व्यापारी पण्डितको छ । आफूलाई अन्य दुईजनाको संलग्नता रहेको पनि बताएको पण्डितले बताए । ४७ हजारका दरले तीनैजनाले क्षतिपूर्ती नतिरेसम्म नछाड्ने बताएको स्थानीयले सुनाए ।

घटनाबारे सूचना पाएपछि प्रहरी हिजो घटनास्थल पुगेको थियो । तर, गाउँपालिका प्रमुख मण्डलका छोरा सत्यनारायणले घटना गाउँमै मिलापत्र गर्ने भनेर प्रहरीलाई फिर्ता पठाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

व्यापारी पण्डितले लगाएको आरोप मुखियाका आफन्तले स्वीकार गर्न तयार छैनन् । बुबा रामस्वरूप मुखिया भन्छन्, ‘मेरो छोरा नै चोर हो के प्रमाण छ ? जबर्जस्ती यातना दिएर चोरी गरेको कुरा स्वीकार्न लगाएका छन् ।’

सप्तरीकै अधिकारकर्मी सुनिता साहले चोरीको आरोपमा खुट्टामा नेल लगाएर राख्नु अपराध भएको बताउँछिन् ।

उनले भनिन्, ‘चोरी नै गरेको हो भने प्रशासनले कारबाही गर्नसक्छ । तर, व्यक्तिले कानून हातमा लिन मिल्दैन ।’ उनले बाँधेर राखेका किशोरलाई अविलम्ब उद्धार गर्न स्थानीय प्रशासनसँग माग पनि गरेकी छन् ।

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमला घटनाबारे थाहा पाएपछि बुझ्न इन्सपेक्टरलाई पठाएको बताए । उनले नेपाल प्रेससँग भने, ‘गाउँपालिका प्रमुखले पनि घटनाबारे बुझिरहेको भनेर भन्नुभएको छ । प्रहरी पनि रेस्क्यू गर्न पठाएको छु ।’

मुखियालाई हातखुट्टा बाँधेर यातना दिइरहेको विषयमा एसपी धमलाले अनभिज्ञता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर