जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे – Nepal Press

जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे

काठमाडौं । मंगलबारको कोरोना रिपोर्टले डा. पुरुषोत्तम वर्मालाई ढुक्क बनायो । ढुक्क यसकारण कि, रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालमा काम गर्दा गर्दै कमजोरीले गालेको थियो उनलाई । कोरोनासँग मिल्दो लक्षण पनि देखिएको थियो ।

सामाजिक सञ्जालमा पनि संक्रमित भनेर हल्ला फिँजियो । जे होस्, नतिजा भने सुखद् आयो ।

डा. वर्माको फोटो सामाजिक सञ्जालमा केहीदिन यता भाइरल बनेको थियो । कोरोना महामारीमा दिलोज्यान दिएर बिरामीको उपचारमा तल्लीन कतिपय स्वास्थ्यकर्मी आफैं संक्रमित छन् । तै पनि पेसागत धर्म मात्र हैन, मानवीयताको मूल्य निभाइरहेका छन् भन्ने प्रमाणस्वरूप उनको कारुणिक फोटो देखा परेको थियो सामाजिक सञ्जालमा ।

फोटोमा डाक्टर वर्मा हातमा सलाइन लगाएर अस्पतालमा काम गरिरहेका देखिन्थे । स्वयम् बिरामी भएर संक्रमितको उपचारमा खटिएको डाक्टर देख्दा तस्बिरले धेरैको हृदय पगाल्यो ।

कोरोना ‘हटस्पट’ बाँकेको नेपालगञ्ज मेडिकल कलेजको कोरोना वार्डमा उनी यतिबेला पनि बिरामीको हेरचाहमा लागिरहेका छन् ।

डेढ वर्षदेखि त्यहाँ कार्यरत डा. वर्मालाई यस्तो चाप कहिल्यै परेको थिएन । सँगै काम गर्ने तीन साथी कोरोना संक्रमित भए । र होम आइसोलेसनमा गए । थेग्नै नसक्ने थियो बिरामीको चाप । त्यही क्रममा आफैं पनि बिरामी परे उनी ।

‘मलाई आराम चाहिएको थियो । संक्रमण भयो भन्ने लागेको थियो । यस्तै बेलामा त हो काम देखाउने । विकल्प पनि थिएन । स्लाइन लगाएर काममा खटिएँ म,’ उनी सुनाउँछन् ।

त्यति नै बेला एक जना सहकर्मीलाई लाग्यो- यो त पछिसम्म मेमोरी हुन्छ ।’ अनि उनले दृश्यलाई फोटोमा कैद गरे । अर्का सहकर्मीले फेसबुकमा राखिदिए । डा. वर्माले पछिमात्र थाहा पाए त्यो कुरा ।

अघिल्लो वर्षको भन्दा धेरै गाह्रो बनाएको छ यसवर्ष कोरोनाले । दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अघिल्लो सालको तुलनामा अस्पताल आउने बिरामीको संख्या मात्र बढेको छैन । समस्या पनि गम्भीर बन्दै गएको छ ।

बिरामीमा अक्सिजन लेभल घट्ने र सास फेर्न गाह्रो हुने समस्या निकै छ । अस्पतालमा बिरामीको संख्या बढ्दै गएका कारण स्वास्थ्यकर्मीको अहोरात्र खटिनुपरेको छ । यसरी खटिँदा थुप्रै अनुभव व्यहोरिसकेका छन् डा. वर्माले ।

उनको आग्रह छ- कोरोनासँग नआतिऔं । ‘भीडभाडमा नबस्ने, सही तरिकाले मास्क लगाउने र हातलाई निरन्तर साबुनपानीले धुने वा स्यानीटाइजर लगाउने मात्र गरे पनि संक्रमणबाट जोगिन सकिन्छ । फैलिन पनि कम हुन्छ,’ उनी सुझाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर