नेपाल सुपर लिगमा पोखरा र चितवन भिड्दै, दुवैलाई जितको दबाब – Nepal Press

नेपाल सुपर लिगमा पोखरा र चितवन भिड्दै, दुवैलाई जितको दबाब

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज अंकतालिकाको पुछारमा रहेका दुई टिम पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोलीलाई जितको दबाब छ ।

राष्ट्रिय टोली र त्रिभुवन आर्मी क्लबका टिममेट नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा र भरत खवासको कप्तानीमा रहेको चितवन एनएसएलमा राम्रो लय भेट्टाउन संघर्षरत छन् । चितवनको ४ खेलबाट २ अंक छ भने पोखराले ५ खेलबाट ५ अंकमात्र जोडेको छ ।

आजको खेल बराबरी वा पराजित भएको अवस्थामा दुवै टोलीको प्लेअफ प्रवेशको सम्भावना सकिनेछ । यसैले आजको खेल दुवै टोलीका लागि गर या मरको अवस्थामा हुनेछ । चितवनले त आजको खेल जितेको अवस्थामा पनि प्लेअफ प्रवेशका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

यसअघि हिजो भएका खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले आआफ्नो खेलमा जित हासिल गरेका थिए । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १-० तथा काठमाडौंले विराटनगर सीटी एफसीलाई ५-४ गोलअन्तरले पराजित गरे ।

प्रतियोगितामा पहिलो जीतपछि ललितपुरले प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । लगातार खराव प्रदर्शनपछि प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेपछिको पहिलो खेलमा ललितपुरको प्रदर्शन उच्च रह्यो ।

बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौं प्लेअफमा प्रवेश गरेको छ ।

ललितपुरका लागि खेलको छैटौं मिनेटमा विदेशी नुर्लान जाहिदले निर्णायक गोल गर्नुभयो । खेलको २२औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो । पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन ।

मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो । खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो । खेलको ७३ औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन ।

ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक छ ।

अर्को खेलमा काठमाडौंँ रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बने। विराटनगरले खेलको छैटौं मिनेटमा नै पहिलो गोल गरेको थियो ।

उक्त गोल विदेशी एडिलाजाले गरेका हुन । खेलको २५ औं मिनेटमा सुनिल बलको प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए । खेलको ३४ औं मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गरे ।

खेलको ३५ औं मिनेटमा काठमाडौंका लागि विदेशी मेसुकेले पहिलो गोल गरे । लगत्तै उनले नै दोस्रो गोल गरे । खेलको ४१ औं मिनेटमा काठमाडौंका लागि स्टेफेन विनोङले तेस्रो गोल गरे ।

मध्यान्तरपछिको खेलमा काठमाडौंका लागि ६७ औं मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गरे। खेलको ७९ औं मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गरे ।

यस्तै खेलको ८२ औं मिनेटमा काठमाडौंका लागि छिरिङ गुरुङले पाँचौ गोल गरे । खेलको इञ्जुरी समयमा माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५-४ गोलको अवस्थामा पुर्‍याए । जीतसँगै काठमाडौं पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *