अनुराग कश्यपले दिए नेपाली फिल्ममेकरलाई यस्ता टिप्स, फिल्म खिच्न नेपाल आउने इच्छा व्यक्त – Nepal Press

अनुराग कश्यपले दिए नेपाली फिल्ममेकरलाई यस्ता टिप्स, फिल्म खिच्न नेपाल आउने इच्छा व्यक्त

काठमाडौं । भारतीय फिल्म निर्देशक अनुराग कश्यपले कोरोनाभाइरस महामारीको अवस्था सामान्य भए आफू फिल्म छायांकनलाई नेपाल आउने बताएका छन् ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)को भर्चुअल सत्रमा विहिबार बोल्दै उनले नेपाल आउने चाहना व्यक्त गरेका हुन् । आफूसँग हिमालमा खिच्नुपर्ने एउटा फिल्मको स्क्रिप्ट भएको र सगरमाथा आधार शिविरमा जाने चाहना भएको उनले बताए ।

आफूले अहिलेसम्म दीपक रौनियार निर्देशित फिल्म सेतो सूर्य र मीनबहादुर भामको कालोपोथी हेरेको कश्यपले बताए । संवादमा उनले दीपक र मीनको नाम समेत उल्लेख गरे ।

आफ्नो कथामाथि फिल्म बनाउन सके, आम्दानीका ढोका खुल्ने बताउँदै कश्यपले नेपाली फिल्म निर्मातालाई आफ्नो कथामा फिल्म सुझाए । धेरै मुलुकमा फिल्म क्षेत्र नै नभएको अवस्थामा नेपाली फिल्म क्षेत्र सन्तोषजनक भएको टिप्पणी उनले गरे ।

नेपाली फिल्मका लागि लगानी जुटाउन कठिन नहुने अनुरागको भनाई छ । ‘तपाईं राम्रो स्क्रिप्ट लेख्नूस, फन्डिङ जुटाउन कठिन छैन । विश्वभरिबाटै तपाईंको स्क्रिप्टमा लगानी गर्न मान्छेहरु इच्छुक हुन्छन्’ उनले भने ।

नीफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्मलाई विश्व बजारमा लैजान स्टोरी बैंक खडा गरिएको बताएका थिए ।

सो सत्रमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाँल, निर्देशक नीर शाह, पोर्चुगलका फिल्म निर्देशक ज्वाओ पाउलो मसेदो र नेपाली फिल्म निर्देशक तुलसी घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर