एमाले मिलाउन दोस्रो तहका नेता सक्रिय, ओली र नेपालबीच टेलिफोन संवाद – Nepal Press

एमाले मिलाउन दोस्रो तहका नेता सक्रिय, ओली र नेपालबीच टेलिफोन संवाद

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आजै निर्णायक संवाद गराउन केही नेता लागेका छन् ।

महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेलले बुधवार र विहीवार माधव नेपाल पक्षका नेताहरुसँग छलफल गरेका थिए । बिष्णु पौडेल र सुवास नेम्वाङले ओली र नेपालबीच पनि संवाद प्रयास गरिरहेका छन् ।

संवादकै लागि एमालेले राष्ट्रियसभाको उम्मेदवार तय गरेको छैन । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेता एमालेको विभाजन रोक्न अध्यक्ष ओलीसहित संस्थापन पक्षका नेताहरुसँग सघन संवादमा छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार ओली र नेपालबीच विहीवार पनि टेलिफोनमा कुराकानी भएको छ । आज पनि नेताहरुबीच औपचारिक अनौपचारिक छलफलपछि राष्ट्रियसभाको उम्मेदवारबारे निर्णय हुने उनले बताए ।

नेम्वाङले भने, ‘अहिले प्रधानमन्त्रीज्यू छलफलमै हुनुहुन्छ । हिजो माधव कमरेडसँग उहाँले टेलिफोनमा कुरा गर्नुभएको छ । नेताहरुबीच कुराकानी भइरहेको छ । एउटा विन्दूमा पुगेर पार्टीलाई मिलाउनै पर्छ ।’

माधव नेपालले ओलीलाई मिल्नका लागि कार्यसूचीसहित वार्ता हुनुपर्ने बताएका छन् । वार्तामा सहभागी नेताहरुका अनुसार अब मिल्न बाँकी भनेको २०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी बैठक बस्ने कि माओवादीबाट एमाले भएका नेताहरुसहितको बैठक भन्ने छ ।

नेपालले माओवादीसँग एकीकरण हुनुअघि २०७५ जेठ ३ गते थपिएका ४१ केन्द्रीय सदस्य पनि अश्वीकार गर्दै आएका थिए । तर नेपाल पक्षकै नेताहरुले ती सदस्य एमालेबाटै नेकपाको केन्द्रीय कमिटीमा एकीकृत भएका भन्दै उनीहरुसहितको बैठक बस्न नेपाललाई मनाएका छन् ।

त्यस्तै माओवादीबाट थपिएका २३ केन्द्रीय सदस्यलाई पनि साबिक एमालेको स्थायी कमिटी बैठक वा पदाधिकारी बसेर मनोनयन गर्ने मध्यमार्गी प्रस्तावमा दोस्रो तहका नेताहरु सहमत भएको बताइन्छ ।

अध्यक्ष ओलीले चाहेमा अब विवाद मिल्न समस्या नरहेको नेपाल पक्षका नेताहरुको भनाइ छ । एमाले विवाद आजै नटुंगिए पनि राष्ट्रियसभामा पार्टीको आधिकारिक उम्मेदवार तय गरेर एकताको एक कदम चाल्न सकिने सुझाव नेताहरुको छ ।

पार्टी एकता जोगाउन ओली र नेपाल दुवै पक्षका नेताहरु सक्रिय भएका कारण केही दिनमा सकारात्मक ढंगले एमालेको विवाद टुंगिने अपेक्षा वार्तामा सहभागी नेताहरुले गरेका छन् । ‘अहिलेको विवाद सैद्धान्तिक, राजनीतिक भन्दा पनि इगोको कारणले बढेको छ,’ एक नेताले भने ‘अध्यक्ष ओली लचिलो हुनासाथ कुरा मिलिहाल्छ’ ।

प्रधानमन्त्री ओली आज पनि विहानै देखि आफू निकट र अन्य नेताहरुसँग छलफलमा छन् । स्थायी कमिटीको औपचारिक बैठक विहीवारै बसेकाले अनौपचारिक छलफल भइरहेको नेताहरुको भनाइ छ ।

एमालेका दोस्रो तहका नेता विवाद मिलाउन सक्रिय भइरहदा राष्ट्रपति विद्या भण्डारीले समेत पार्टी एकताको लागि पहल गरेको बताइन्छ । विहीवार राष्ट्रपतिले ओली र नेपालसँग अलग अलग छलफल गरेकी थिइन् ।

स्रोत भन्छ, ‘राष्ट्रपतिले एमालेलाई विभाजन हुन नदिन दुवै नेतालाई आग्रहमात्र गर्नु भएको छैन, केही उपाय पनि सुझाउनुभएको छ । माधव नेपाल पनि राष्ट्रपतिलाई भेटेपछि केही आश्वस्त हुनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर